विनोद र अरुण चौधरी दुबैलाई कठ्घरामा उभ्याउँदै अख्तियार

२ बैशाख २०८१, आईतवार १५:४१

काठमाडौं । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अर्वपति व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी र भाइ अरुण दुबैलाई बयानका लागि तान्ने भएको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको छानविन सँगै अख्तियारले पनि बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान थालेको र अनुसन्धान अधिकारीहरु उक्त प्रकरणमा सामेलहरुको बयान लिने निधोमा पुगेको बीमापोष्टलाई जानकारी दिए ।

उनले चाँडै बयान हुने बताए पनि मुद्दा अनुसन्धानका क्रम मै रहेकाले यो वा त्यो मिति भनेर भन्न नमिल्ने बताए । ‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्तिगत कम्पनीका नाममा दर्ता भएको र त्यसमा बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन पदाधिकारीसहित चौधरी परिवारका सदस्यकै भूमिका रहेको अनुसन्धानबाट देखियो’, अख्तियारका अनुसन्धान अधिकारी भन्छन्, ‘बयानका लागि चिठी पठाउने लगभग तयारी भइसकेको छ । वैशाखको पहिलो साता बोलाउने कुरा छ । विनोद र अरुण दुबैको बयान लिनु पर्ने हुन्छ ।’

कम्पनीको हर्ताकर्ता अरुण रहे पनि तत्कालीन समयमा च्याम्पियन फूटवेयरका तर्फबाट कार्यकारिणी भूमिकामा विनोद चौधरी कै नाम रहेको कागजात समेत फेला परेको छ । २०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी ग्रुपले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरका नाममा दर्ता गरेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा अहिले चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले केही महिनाअघि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेकामा अदालतको आदेशपछि जमानतमा छोडेको थियो । अनुसन्धान कै क्रममा सीआईबीले गएको चैत ८ गते व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयमा उभ्याएर बयान लिएको थियो । लगत्तै उनी विदेश हानिएका थिए ।

बाँसबारी छालाजुत्ताका तर्फबाट सुरुमा च्याम्पियन फूटवेयरमा शेयर लगानीका रुपमा राखिएको सरकारी जग्गा हत्याउने दाउसहित माडवारी व्यापारी लुनकरण दास चौधरीले पत्नी गंगादेवी, छोराहरू विनोद कुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र ज्वाइँ महेशकुमार अग्रवालका नाममा कम्पनी स्थापना गरेका थिए । जुन कम्पनीले बाँसबारीको जग्गा आफ्नो नाम दर्ता गरेर दुई वर्ष मै जुत्ता उत्पादन बन्द गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*