व्यापारीको स्वार्थका लागि जनजातिको रगतसँग जिस्कनु उचित होला र ! प्रम ओलीज्यु ?

नेपालको केही आदिबासी जनजातिहरु छन्, जसलाई छुने वित्तिकै सत्ता हल्लिन्छ । नेवार, राई–लिम्बु, मधेश र थारु नेपालका प्रभावशाली जनजातिहरु हुन् । जसलाई छुनुअघि दर्जनौं पटक सोच्नु पर्दछ र सत्ताको सौदाबाजी लगाउनु पर्दछ । त्यसैले त श्री ५ पृथ्वीनारायण शाहले पनि पूर्वका लिम्बुहरुसँग युद्ध गरेनन् बरु सम्झौता गरे ।
२०६४ सालपछि जनयुद्धको राप र तापले उम्लेकी तत्कालिन संस्कृति मन्त्री हिसिला यमीले काठमाडौं उपत्यकाभित्र संस्कृति मनाउन दिइने बजेट कटौति गरिन् । त्यस लगत्तै काठमाडौं उपत्यकाको भित्री क्षेत्रका नेवार समुदायहरु एक सातासम्म आन्दोलित बन्नु पर्यो । त्यसको परिणाम काठमाडौंमा माओवादी आजसम्म पनि ठाडो शिर गरेर हेर्न सकेको छैन । २०६३ मा १ गते अन्तरिम संविधान जारी गरेको दिन तराईमा सामान्य आन्दोलन चलेको थियो । त्यही दिन मातृका यादवका पिएसओले गोली चलाए र एक जना मधेशीको रगत बगाएपछि आन्दोलनले नयाँ रुप लियो र शान्ति प्रक्रियामा अघि बढेको माओवादी– सातदलको साझा सत्ता मधेशी जनता सामू झुक्न बाध्य भयो ।
दृष्य केही फरक छ तर पाथिभरामा पनि यही विगतकै इतिहास दोहोरिँदैछ । हिसिला यमीले काठमाडौंका रैथाने नेवार समुदायको जात्रा पर्व मनाउँदा काटिने राँगाको खर्च रोक्दा काठमाडौं उपत्यकाबाटै माओवादी बढारिएको अवस्था छ । अहिले ताप्लेजुङमा जसरी एउटा अमूक व्यापारीको लागि किराँत आदिबासी जनताको छातीमा गोली ठोक्ने र खुकुरीले गर्दन रेट्ने काम भइरहेको छ त्यसले सत्ताधारी नेकपा एमाले–कांग्रेस मात्रै नभई वर्तमान संघीय लोकतान्त्रि गणतन्त्र नै धरापमा पर्ने त होइन ? आशंकाहरु जन्मिएका छन् ।
नेपालमा रगतहरु धेरै बगे । प्रजातन्त्रको लागि, लोकतन्त्रका लागि, गणतन्त्रका लागि, मधेशमुद्दाका लागि । जति बगे सबै राज्यसत्तासँग जोडिएका थिए । तर, यस पटक व्यापारीको स्वार्थको लागि आदिबासी जनजातिको रगतसँग सरकारले जिस्किरहेको छ । जुन नेपालको इतिहासमा राजनीतिक दलहरुले सोचेभन्दा कैयौं गुणा घातक र प्रत्युत्पादक हुने जोखिमतर्फ अग्रसर हुनसक्दछ ।
पाथिभरा अर्थात मुकुम्लुङ नेपालका मात्रै नभई विश्वका किराँत र हिन्दु धर्मालम्वीहरुको साझा थलो हो । मुकुम्लुङमा पूर्वी नेपालका सबै जिल्ला, भारतको दार्जिलिङ, कालिङपोङदेखि सिक्किमसम्मका सर्वसाधारण दर्शन गर्न आउने गर्दछन् । त्यस्तै, पूर्वी नेपाल र उत्तरपूर्वी भारतबाट विश्वका विभिन्न स्थानमा पुगेका नेपाली भाषीहरुले पाथिभरादेवीप्रति आगाध विश्वास राख्ने गरेको पाइन्छ । मुकुम्लुङ अर्थात पाथिभरादेवीको मन्दिरमा जनताको आगाध विश्वास, आस्था कुन तहमा छ भनेर पाथिभराको मन्दिरमा जाने करिब छ किमी बाटोको दायाबाँया असरल्ल रहेका पैसाको थुप्रो हेरे पुग्छ ।
पाथिभरादेवीको भेटी संकलन र रक्षा गर्न न कुनै प्रहरी चाहिन्छ न कुनै सुरक्षाकर्मी नै । सडकका दायाँबायाँ जसरी नोटहरु छरिएका हुन्छन्, र त्यो मन्दिरका पुजारी वा कर्मचारी बाहेक अन्यले छुदैनन् । यही कुराले पनि पाथिभरादेवी एक मन्दिर मात्रै वा मुकुम्लुङ मात्रै नभई सिंगो सभ्यता सत्य, बचन, न्याय, अर्काको छुनु हुँदैन भन्ने मान्यता जीवित छ स्पष्ट हुन्छ । पाथिभराको मन्दिरमा जाने बाटोको चार किमी तलदेखि पैसा बाटोभरि नै छरिएका भेटिन्छन् । जनतामा यति विश्वास छ कि पाथिभरा मन्दिर जाने बाटोमा देखिएको पैसाहरु टिपेर पचाउने आँट गर्दैनन् ।
जनताको यत्रो आगाध विश्वास (अन्धविश्वास नै सही), आस्था भएको स्थानमा व्यापारी चन्द्र ढकालले बार्षिक अर्बौ रुपैयाँको व्यापार हात पारेर पचाउँछु भन्दै सत्ताको दुरुपयोग गरिरहेका छन् । राज्यसत्ताको दुरुपयोग गर्दै विरोधी आदिबासी जनजातिहरुमाथि गोली ठोक्न र केही स्थानीय लगाएर खुकुरी नचाइरहेका छन् । यस्तो पवित्र र कठोर धार्मिक विश्वास भएको स्थानमा हात हाल्नुअघि त्यहाँका जनताको मनोभावना, संस्कृति, सभ्यता अध्ययन नगरी हात लागेको सबै सोहोर्ने चन्द्र ढकाल र आईएमई ग्रुपको नियत दिनको घाम जत्तिकै छर्लङ्ग छ । पाथिभरामा केवलकार खोल्ने, होटल चलाउने, मन्दिरलाई मोजमस्तीको केन्द्र बिन्दु बनाउने । व्यापारी ढकालसँगै अर्को खतरनाक त ताप्लेजुङबाट एमालेको प्रतिनिधित्व गर्दै सुर्य चिन्ह लिएर चुनावमा उठेर आदिबासी जनजातिकै भोटले चुनाव जितेर सांसद बनेर आएका योगेश भट्टराईको नियत र भित्री साँठगाँठले पनि थप स्पष्ट गर्दछ । भट्टराईले पत्रकार सम्मेलन नै गरेर पाथिभरामा केवलकार बनाएरै छोड्ने दृढता व्यक्त गरेका छन् । विकासको दुहाई दिने सांसद भट्टराईले सुकेटारदेखि काफ्ले पाटीसम्मको जर्जर अवस्थाको सडकबारे केही बोल्दैनन् । बाढी पहिरोले तल खोलाको बगेको पुलको बिषय उठाउँदैनन् तर पाथिभराको केवलकारबारे सार्वजनिक मन्तव्य दिइरहेका छन् ।
ताप्लेजुङको पवित्र धार्मिक स्थल मुकुम्लुङ अर्थात पाथिभरादेवीको मन्दिरप्रति जनतामा रहेको यही आस्था र विश्वासलाई आईएमई ग्रुप र चन्द्र ढकाल परिवारले बार्षिक अर्बौै रुपैयाँ आम्दानीको माध्यम बनाउन खोजेको छ । जनताको अथाह विश्वासलाई आइएमई ग्रुपले रुपैयाँमा रुपान्तरण गर्न केवलकारको माध्यम रोज्यो । केबलकार बनाउनको लागि जग्गा चाहियो । जंगल चाहियो अनि स्थानीयबासीको विरोधलाई छेक्न राजनीतिक पार्टीहरुको साथ चाहियो । व्यापार साम्राज्य स्थापना गरिसकेको आइएमई ग्रुपलाई नेता किन्नु, सांसद किन्नु, प्रधानमन्त्री र मन्त्रिपरिषद नै किन्नु कुनै ठूलो कुरा भएन । केवलकार बनेपछि बार्षिक अर्बौ रुपैयाँ आउने भएपछि करोडौं रुपैयाँ लगानी भइसकेको छ । स्थानीयबासीको विरोधलाई छेक्न स्थानीय गुण्डादेखि सेटिङमा एमालेका नेताहरुका आफन्तलाई जागिरदेखि सबैतिर सेटिङ मिलाउने काम सकिइसकेको छ । गोली हान्न आदेश दिने सिडियो र प्रहरीका उच्च तहका अधिकारीहरुलाई आईएमईले बिशेष उपहार पनि दिन सक्नेछ ।
केवलकार निर्माण सुरु गर्ने विषय उठ्ने वित्तिकै ताप्लेजुङ मात्रै नभई सिंगो पूर्व जुरुक्कै उठ्यो । सुरुमा आईएमई ग्रुपले पालेका केही गुण्डाहरुले खुकुरी आतंक मच्चाएर शान्तिपूर्ण विरोध गर्ने चन्द्र मादेनसहितका आदिबासी जनजातिको गर्दनमा खुकुरीले छप्क्याईयो । पवित्र पाथिभरा देवी मन्दिर प्रवेश गर्ने मुख्य द्वार काफ्लेपाटीमा रगतको खोलो बग्यो । सरकार मुक दर्शक बन्यो । व्यापारीले आदिबासीलाई खुकुरी नचाएर तमासा देखाउँदा स्थानीय प्रहरी, सशस्त्र प्रहरीहरुले मौन समर्थन गरिरहेका थिए । चर्को विरोधपछि केही समय मत्थर भएको पाथिभराको काम माघको पहिलो साताबाट फेरि सुरु भयो ।
गत माघ ८ गते बलुडाँडामा स्काभेटर चलाएर निर्माण कार्य सुरु गरे लगत्तै यसको प्रतिवाद सुरु भयो र माघ १३ गतेसम्म पुग्दा जनताको करबाट तलव खाने सशस्त्र प्रहरीले एसएलआरबाट भटभटट् गर्दै जनताको छातीमा ताकेर गोली दागियो । थुप्रै घाइते भए । सो मध्ये दुई जनालाई गोली लागेर जीवन मरणको संघारमा संघर्ष गरिरहेका छन् । रोचक कुरा चाही चन्द्र ढकालका लागि सरकारले छातिमा गोली दागे पनि याम बहादुर लिम्बु जीवितै छन् । सशस्त्र प्रहरीले घातक हतियार एसएलआरबाट चलाएको गोली उनको छातिबाट छिरेर फोक्सो प्वाल पार्दै पिठ्युबाट निस्केको थियो ।
केवलकारको बिरोध गर्नेहरुमाथि लोकतान्त्रिक शासन व्यवस्थामाथि झापड हान्ने गरी मच्चाइएको ‘शाही शैली’को दमनले मुकुम्लुङ अर्थात पाथिभरामा बनाउन लागेको केवलकारमा राज्यसत्ता अर्थात सरकारकै संलग्नता प्रमाणित हुन आएको छ । जनता र राज्यले केही नपाउने तर आईएमई ग्रुप र ताप्लेजुङ्कै सांसद योगेश भट्टराई (घुमाउरो पारेर शेयर) भएको पाथिभरादेवी दर्शन केवलकारले मात्रै लाभ पाउने छ । केवलकार आयोजनामा जनतालाई मारेरै भएपनि निर्माण गरेरै छोड्ने अठोटमा सरकार दृढ रहेको देखिन आएको छ ।
व्यापारीको लाभको लागि राज्यसत्ताको उपयोग हुनु, व्यापारीलाई आम्दानी हुने काम गरिदिनको लागि जनताको रगतसँग खेलाची गर्ने कार्य प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाटै हुनु अर्को दुर्भाग्यपूर्ण कुरा हो । किनभने प्रधानमन्त्री केपी ओलीका हरेक भाषणहरुमा पूर्वीय सभ्यताका लवच, शैली र टुक्काहरु जोडिने गर्दछन् । चितवनको ठोरीलाई रामको जन्मभूमि मान्न तयार भएका ओली मुन्धुमबासी र सिंगो देशबासीको आस्थाको केन्द्र पाथिभरा अर्थात मुकुम्लुङ किन यसरी व्यापारमा उत्रिए आठौं आश्चर्यको बिषय बन्न पुगेको छ । यद्यपि पाथिभरामा केवलकार बनाउने सम्बन्धमा सबै निर्णय केपी ओलीले गरेका होइनन् । यसअघिका प्रचण्ड सरकारकै पालामा भएको हो । तर, गत कार्तिकमा विवाद भई खुकुरी चलिसकेको अवस्थामा प्रम ओलीले चाहेको खण्डमा अहिलेलाई रोक्न सक्दथे ।
इतिहासको सबैभन्दा बलियो सरकार हो । सम्भवतः २०६१ सालपछि ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछिको सबैभन्दा शक्तिशाली सत्ता अहिले चलिरहेको छ । ओली नेतृत्वको सरकारलाई संसदमा दुई तिहाई छ । देशका दुई ठूला पार्टीहरु मिलेर चलाएको सरकारले जनतालाई डेलिभरी, विकास र समृद्धि दिनुपर्नेमा विकास गर्ने भन्दै ऐतिहासिक सभ्यतामाथि प्रश्न चिन्ह उठ्ने गरी व्यापारीलाई केवलकार निर्माण गराउन नसकेर सशस्त्र प्रहरी परिचालन गरी आदिबासी जनताको छातीमा गोली ठोकिरहेको छ । जुुन दुर्भाग्यपूर्ण मात्रै नभई लोकतन्त्रमाथि खिल्ली उडाउने काम भएको छ ।
इतिहासको सबैभन्दा शक्तिशाली सरकारले पूर्वी नेपालका आदिबासी जनजातिहरुको मनमा ठेस पुर्याउने काम मात्रै गरेको छैन । मुन्धुम सभ्यतामाथि धावा बोलेको छ । एकता, स्वाभिमान र राष्ट्रियताको लागि नभई फगत एक जना व्यापारी चन्द्र ढकालका लागि जनजातिको भावनासँग जिस्किरहेको छ । जब देशका शासकबर्ग एउटा व्यापारीलाई काखी च्यापेर जनतामाथि दमनमा उत्रिन्छन्, तब सत्ता होइन, शासन व्यवस्थाकै आयुको गणना सुरु हुन्छ । अझ आदिबासी जनजजातिको छातीमा गोली ठोकेर व्यापारीको स्वार्थ रक्षा गर्ने कांग्रेस–एमालेको गठबन्धन सत्ता सर्वसत्तावादकै एक नमुनाको रुपमा लिन सकिन्छ । सर्वसत्तावादको आयु र भविष्य अन्धकार र अनिश्चितप्रायः छ ।
देशको अवस्था जर्जर छ । जनता आक्रोस र निराश छन् । यस्तो बेलामा कांग्रेस एमालेको गठबन्धनले आदिबासी जनजातिको अस्तित्वमाथि धावा बोल्ने घटना कतै वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाकै पतन सन्निकट आएको त होइन ? आशंकाहरु उब्जिएका छन् । लोकतन्त्रका मुख्य ठेकेदार दुई दलले जनताको आर्थिक समृद्धिको मुद्दामा देशका तस्कर, माफिया, बिचौलियासँग लडाई लड्नुको साटो व्यापारीलाई पृष्ठपोषण गर्न देशको सत्ता नै उलटपुलट गर्ने तागत राख्ने आदिबासी जनजातिको रगतसँग जिस्किरहेको छ । जुन अक्षम्य र मूल्य चुनाउनै नसक्ने हुनसक्छ, चेतना भया ।
सरकारको रवैया पुजिपति,तस्कर,भु -माफिया आदिप्रति विशेष सहानुभूति आदि भएकै कारणले अनाहकमा स्वाभिमानी नागरिकले ज्यान गुमाउनु परेको छ,अपाहिज हुनु परेको छ,जेलनेल भोग्नु परेको छ,घरवार बिहीन हुनुपरेको छ,हरेक किसिमको समस्यामा परिरहनु परेको छ।किनभने स्वाभिमानी जनता अन्याय बेथितिको बिरुद्धमा आवाज उठाउछन,न्यायको माग उठाउछन।तर सरकार उनीहरूको आवाजलाइ दबाउन सत्ता र शक्तिको दुरुपयोग गर्दछ र जनतालाई बुट लाठी र गोली उपहार दिदैछ।सरकार सुशासन हैन कुशासन गर्दैछ ।