वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र पूर्वाधारको अभावले दुर्घटना बढाइरहेको हो ।
दैनिक रूपमा भइरहेका दुर्घटनाका घटनाहरूमा ईभीको संलग्नता उल्लेखनीय देखिन थालेको छ जसले समग्र सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । कमजोर प्रविधि, ब्रेक फेल र नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा परीक्षणबिना बजारमा ल्याइएका ईभीले सुरक्षा चुनौती थप्दै गएको हो । विशेष गरी मोडिफाई गरिएका वा कम गुणस्तरका सस्तो ब्रान्डका ईभीहरू बजारमा छ्यापछ्याप्ती भित्रिनुले समस्यालाई झन् चर्काएको छ।
पछिल्लो एक वर्षमा मात्रै झन्डै २ हजार ईभी सवारी दुर्घटनामा परेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ९०८ वटा ईभी दुर्घटनामा परेका हुन् ।
बीमापोष्टलाई प्राप्त तथ्याङ्क अनुसार उक्त दुर्घटनामा परि ९० जनाले ज्यान गुमाएका छन् । वर्ष दिनमा ईभी दुर्घटनामा परि मधेसबाट २८ जना, बागमतीबाट २१ जना, कोसीबाट २० जना, सुदुरपश्चिमबाट ७ जना, गण्डकी र लुम्बिनीबाट ६/६ जनाले ज्यान गुमाएका छन् ।
यस अवधिमा ईभी दुर्घटनाबाट २२३ जना गम्भीर घाइते भएका हुन् । मधेसमा १०३ र कोशीमा ४६ जना ईभी दुर्घटनाले गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको सङ्ख्या २ हजार ४०३ जना रहेको प्रहरीले जनाएको छ ।
कार र माइक्रो ईभी दुर्घटनाको सङ्ख्या बढी, कोशी र काठमाडौँ उपत्यकामा त्रास
वर्ष दिनको तथ्याङ्क हेर्दा ईभी कार र माइक्रो बस बढी दुर्घटनामा पर्ने गरेको पाइएको छ । गत आवमा मात्रै जिप र कार २६७ वटा दुर्घटनामा परेका छन् भने १३४ वटा माइक्रो दुर्घटनामा परेको देखिएको हो । काठमाडौँ उपत्यकामा मात्रै ४६ वटा माइक्रो र १५२ वटा कार दुर्घटनामा परेका हुन् ।
यता, ईभी कार कोशी प्रदेशमा ३४, बागमती प्रदेशमा ३५, मधेसमा २४, लुम्बिनीमा १८ र सुदूरपश्चिममा २ दुर्घटनामा परेको देखिएको हो । माइक्रो तर्फ भने बागमतीमा १९, लुम्बिनीमा १९, कर्णालीमा १८, सुदूरपश्चिम १५, गण्डकीमा १०, कोशीमा ५ र मधेसमा २ वटा दुर्घटनामा परेका छन् ।
यस अवधिमा ३९ वटा सर्वसाधारण बोक्ने ईभी बस दुर्घटनामा परेका छन् । काठमाडौँ उपत्यका भित्रै ईभी बस २७ वटा दुर्घटनामा परेका हुन् । बागमतीमा ५, मधेसमा ३ र लुम्बिनी र सुदुरपश्चिकममा १/१ ईभी बस दुर्घटनामा परेका छन् ।
गत आवमा ईभी ट्याम्पो १ हजार १४२, मोटरसाइकल २०१, ट्रक टेकंर २३ वटा, टिपर २ वटा दुर्घटनामा परेका हुन् ।
समीक्षा अवधिमा कोशीमा सर्वाधिक बढी ईभी गाडी दुर्घटनामा परेको देखिएको छ । वर्ष दिनको अवधिमा कोशीमा ७५५ वटा ईभी सवारी दुर्घटनामा परेका हुन् । साथै, मधेसमा ४७४, काठमाडौँ उपत्यकामा ३४०, लुम्बिनीमा १८८, बागमतीमा ७२, सुदूरपश्चिममा ४७, कर्णालीमा १७ र गण्डकीमा १५ वटा ईभी सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ब्रान्ड नै गुणस्तरहीन कि चालकको कमजोरी ?
ईभी दुर्घटनाको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा यसको प्रमुख कारणबारे बहस चुलिएको छ । कतिपयले चालकको लापरबाही र अनुभवहीनतालाई दोष दिँदै आएका छन् भने अन्यले ईभी सवारी साधनमा प्रयोग गरिएका प्रविधि र सुरक्षासम्बन्धी उपकरणको गुणस्तरमै समस्या रहेको ठान्ने गरेका छन् । प्रयोगकर्ताहरूको अनुभवका आधारमा सस्तो मूल्यमा बजार आकर्षण गर्न खोजिएका केही ब्रान्डका ईभीमा ब्रेकिङ सिस्टम, ब्याट्री व्यवस्थापन र अन्य सुरक्षा उपकरणहरू कमजोर देखिएका छन् ।
नेपालजस्तो जटिल सडक संरचना, विकट भौगोलिक बनावट र चुनौतीपूर्ण मौसमीय अवस्थाबिच सुरक्षित सवारी सञ्चालनको चुनौती थपिने गर्छ । यस्तो परिवेशमा सञ्चालनमा ल्याइने सवारी साधनले उच्च सुरक्षा मापदण्डमा खरो उत्रनु अपरिहार्य हुन्छ । तर, यथार्थमा नेपालमा गुणस्तरीय परीक्षणको व्यवस्था, मोडेल स्वीकृतिको प्रक्रिया, प्राविधिक मापदण्डको पालना तथा सरकारी नियमन प्रणाली कमजोर भएको देखिन्छ ।
यसको प्रत्यक्ष परिणामस्वरूप गुणस्तरहीन विद्युतीय सवारीहरू खुलेआम बजारमा बिक्री भइरहेका छन् जसले सर्वसाधारणको सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ । नियमन अभावकै कारण केही कम्पनीहरूले आवश्यक सुरक्षा परीक्षणबिना सवारी साधन आयात गरी बिक्री वितरण गरिरहेका छन् जसले गर्दा सामान्य यात्रुले ज्यानै गुमाउनु पर्ने अवस्थासमेत देखा पर्न थालेको छ ।
यता, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरे भने ओभर स्पीडका कारण ईभी दुर्घटना बढी रहेको बीमापोष्टलाई बताए । उनले भने, ‘अहिले ईभी दुर्घटना पर्नुको मुख्य कारण ओभर स्पीड रहेको छ । चालकले ओभर स्पीडमा गाडी हाँक्न खोज्दा भयानक अवस्था सिर्जना भइरहेको छ । प्रहरीले हालसम्म चालकको लापरबाहीले नै गर्दा ईभी दुर्घटना बढेको निष्कर्ष निकालेको छ ।’
सडक अवस्था र मनसुनको समयमा ईभी दुर्घटना थप बढ्दो क्रममा रहेको घिमिरेको भनाइ रहेको छ । ‘प्राविधिक कुरा के हो हामीलाई थाहा हुने कुरा भएन । ब्रान्डमा कमजोर हो होइन त्यो थाहा भएन । तर, सडकको अवस्था र चालकको लापरबाहीले दुर्घटना भइरहेको छ । चालक दक्ष तथा अनुभवको कमी भन्ने कुरा चाहिँ हामीले मान्दैर्नौं । लापरबाहीले नै दुर्घटना बढ्दो छ ।’
सम्बन्धीत समाचार:
भो, अति भो ! ईभी माइक्रोले थप विद्यार्थीको ज्यान नलियोस्
सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना
एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा
फोटोन ब्रान्डको ईभी माइक्रो दुर्घटना, दुई जनाको निधन हुँदा १४ जना घाइते
नुवाकोटमा किङलङ ईभी माइक्रोबस दुर्घटना, ९ जना घाइते
फोर्ड कम्पनीको कार खस्यो काठमाडौंको धोबिखोलामा














१०० % चालकको लापरबाही हो दाई , ई भी चलाउने चालकको क्षमता हेर्ने हो भने सुन्य छ त्यसमाथी जसले गाडी निकासीको जिम्मा लिएको छ उसले केही जानकारी र तालीमको ब्यबस्था नगरी बजार पठाको छ । पहिले बयलगाडा चलाउने जती अहिलेका ई भी को चालक छन् , जति थिच्यो त्यती कुद्छ गल्ती गाडीको होईन चालक नै बेकार को छन