राताम्य पुँजी बजारमा त्रसित लगानीकर्ताः फाइनान्स र हाइड्रोमा भारी गिरावट, किन मार्केट अस्थिर ?

काठमाडौँ । पछिल्ला केही दिनयता शेयर बजार लगातार दबाबमा रहँदै आएको छ । आज पनि बजार राताम्य बनेपछि समग्र कारोबारमा निराशाजनक अवस्था देखिएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सम्पत्ति मूल्यमा गिरावट आउँदै गएको छ भने उनीहरूमा अनिश्चितता र त्रास बढ्दै गएको छ ।
बजारमा देखिएको निरन्तर गिरावटका कारण लगानीकर्ता अहिले ‘पर्ख र हेर’ को रणनीतिमा पुगेका छन् । विशेषगरी छोटो अवधिका लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न बिक्री चाप बढाउँदा बजारमा थप दबाब सिर्जना भएको हो । दिनभर अधिकांश समूहगत सूचकहरू कमजोर देखिँदा कारोबार रकम पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । यसले बजारमा तरलता अभाव र मनोवैज्ञानिक दबाब दुवै बढाएको छ ।
यसबाहेक निजी क्षेत्रका कारोबारमाथि नियामक निकायको निगरानी कडा हुन सक्ने आशंका, नीतिगत स्पष्टताको अभाव तथा केही व्यवसायी र लगानीकर्तासम्बन्धी पक्राउ तथा अनुसन्धानका समाचारहरूले पनि बजार मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पारेका छन् । यस्ता घटनाले बजारमा अनिश्चितता थपिएको भन्दै ठूला लगानीकर्ताको निष्क्रियता र बाहिरिने प्रवृत्तिले साना लगानीकर्तामा समेत दबाब सिर्जना गरेको देखिन्छ ।
विश्लेषकहरूका अनुसार बजारमा देखिएको वर्तमान दबाब अस्थायी प्रकृतिको हुन सक्ने भए पनि लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको कारण सुधार ढिलो भइरहेको छ । ब्याजदरमा आएको गिरावट, वित्तीय प्रणालीमा देखिएको स्थायित्व र अर्थतन्त्रका प्रमुख सूचकहरूको सुधारले भविष्यमा पुँजीबजारलाई बलियो आधार दिने अपेक्षा गरिएको छ । तर तत्कालका लागि बजारमा स्थिरता कायम गर्न नीतिगत स्पष्टता र विश्वासको वातावरण आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ं १७.९१ अकंले घटेर २८०७.३१ बिन्दुमा कायम भएको छ । आ ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको शेयर मूल्य मात्रै १.१६ प्रतिशतले बढेको हो । फाइनान्स समूहको १.०९ प्रतिशत र हाइड्रोपावर समूहको १.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेकोछ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।











