आईपीओअघि कैलाश हेलिकप्टरको कारोबार ३९ करोड ४० लाखमा सीमित

२० श्रावण २०८३, बुधबार १८:४९

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिसले गत आर्थिक वर्षको पहिलो नौ महिनामा ३९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानीमा उल्लेख्य गिरावट देखिएको छ।

उपलब्ध वित्तीय विवरणअनुसार कम्पनीको कारोबार गत वर्षको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले घटेको हो। कम्पनीले यस गिरावटको प्रमुख कारण गत आवमा भएको ‘जेनजी’ आन्दोलनका कारण पर्यटन तथा हवाई सेवामा परेको असरलाई मानेको छ।

कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि दबाब देखिएको छ। सन् २०२५ मा ४२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको पहिलो नौ महिनामा घटेर ३५ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ।

वार्षिक कारोबारको तथ्यांक हेर्दा कम्पनीले सन् २०२५ मा ८१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसभन्दा अघिल्लो वर्ष ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। यसले कम्पनीको दीर्घकालीन कारोबार वृद्धि सकारात्मक रहे पनि पछिल्लो अवधिमा चुनौती थपिएको देखाउँछ।

सन् २०१७ देखि व्यावसायिक सेवा सुरु गरेको कम्पनीको आम्दानीको मुख्य आधार पर्यटनसँग सम्बन्धित उडान सेवा हो। कुल आम्दानीमध्ये करिब ५० प्रतिशत हिस्सा एडभेन्चर पर्यटनबाट आउने गरेको छ। त्यसमध्ये एभरेष्ट बेस क्याम्प उडानबाट मात्रै ४८ प्रतिशत र अन्नपूर्ण बेस क्याम्पबाट २ प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ। बाँकी आम्दानीमध्ये ३० प्रतिशत रेस्क्यू (उद्धार) अपरेशनबाट तथा २० प्रतिशत कार्गो सेवाबाट प्राप्त हुने गरेको छ।

सुरुआतमा निजी कम्पनीका रूपमा सञ्चालन भएको कैलाश हेलिकप्टर सर्भिस सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो। हेलिकप्टर सेवामार्फत चार्टर्ड फ्लाइट, उद्धार उडान, स्लिङ अपरेशन, एडभेन्चर टुर तथा कार्गो ढुवानी सेवा प्रदान गर्दै आएको कम्पनीसँग हाल तीनवटा एयरबस हेलिकप्टर सञ्चालनमा छन्।

हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ७० लाख रुपैयाँ रहेको छ। सात जना संस्थापक लगानीकर्ता रहेको कम्पनीमा अध्यक्ष र प्रबन्ध निर्देशकको संयुक्त स्वामित्व ४० प्रतिशत छ। कम्पनीलाई इक्रा नेपालले ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन’ श्रेणीको रेटिङ प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*