सुस्त पुँजी बजारमा चिन्तित शेयर लगानीकर्ताः गुम्दै लगानी, अझै किन छ गिरावटको डर ?

२६ श्रावण २०८३, मंगलवार १५:०८

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय सुस्तता देखिएको छ । नेप्से परिसूचक लगातार दबाबमा रहनुका साथै दैनिक कारोबार रकमसमेत क्रमशः खुम्चिँदै गएपछि बजारमा लगानीकर्ताको सक्रियता घटेको संकेत देखिएको हो ।

परिसूचकमा अपेक्षित सुधार आउन नसक्दा बजारले स्पष्ट दिशा लिन सकेको छैन भने कारोबार रकममा आएको संकुचनले खरिदकर्ताको माग कमजोर रहेको देखाएको छ । बजारमा नयाँ लगानी थप्नेभन्दा विद्यमान लगानी सुरक्षित गर्ने तथा जोखिम मूल्यांकन गर्दै ‘पर्ख र हेर’को रणनीति अपनाउने प्रवृत्ति बढेको छ । पछिल्लो समयको बजार गतिविधिले लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा सुधार भइनसकेको संकेत गरेको छ ।

बजारमा बिक्री दबाब बढ्नुको अर्को प्रमुख कारण छोटो अवधिमा नाफा सुरक्षित गर्ने प्रवृत्ति पनि देखिएको छ । यसअघिको वृद्धिबाट नाफामा रहेका कतिपय लगानीकर्ताले बजारको आगामी दिशा स्पष्ट नहुँदा नाफा बुक गर्न थालेका छन् भने नयाँ लगानीकर्ता प्रवेशका लागि उपयुक्त समयको प्रतीक्षामा छन् । माग र आपूर्तिबीच सन्तुलन कमजोर हुँदा सामान्य खरिद आदेशले समेत बजारमा अपेक्षित प्रभाव पार्न नसकेको अवस्था देखिन्छ ।

यसबीच सरकार र नियामकीय निकायबाट पूँजीबजार सुधारका विषयमा व्यक्त हुँदै आएका प्रतिबद्धताले लगानीकर्ताको अपेक्षा भने उच्च बनाएका छन् । सरकारको नेतृत्व, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा बालेन शाहलगायतबाट पूँजीबजार विकास, लगानीमैत्री वातावरण निर्माण र नीतिगत सुधारका विषयमा सकारात्मक धारणा सार्वजनिक हुँदै आए पनि त्यसको प्रभाव बजारमा अपेक्षाअनुसार देखिन नसकेको लगानीकर्ताको गुनासो छ ।

बजार विश्लेषकहरूका अनुसार तत्कालै ठूलो सुधार आउने बलियो आधार अझै स्पष्ट नभएकाले आगामी केही कारोबार दिनमा पनि बजारमा उतारचढाव, बिक्री दबाब र नाफा सुरक्षित गर्ने प्रवृत्ति कायम रहन सक्छ । यद्यपि बजारको दीर्घकालीन दिशा केवल केही दिनको परिसूचक वा कारोबार रकमबाट निर्धारण नहुने भएकाले लगानीकर्ताले समग्र आर्थिक अवस्था, कम्पनीहरूको वित्तीय स्थिति, तरलता, ब्याजदर, नीतिगत वातावरण तथा बजारको आधारभूत पक्षलाई समेत ध्यान दिनुपर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्क ११ करोड ९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचकमा सुधार आएको छ भने ७ उपसूचक घटेको छन् । आज सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूहको रहेको छ ।

मंगलबार १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*