शेयर बजारमा लगानीकर्ताको उत्साह हराउँदै, नेप्से ८ अंकले बढ्दा ३ अर्ब ७२ करोडको कारोबार

काठमाडौं । शेयर बजार अहिले सुस्त बन्दै गएको छ । आज बुधबारको कारोबारले पनि बजारमा लगानीकर्ताको उत्साह घट्दै गएको संकेत गरेको छ ।
नेप्सेमा निरन्तर दबाब देखिएपछि लगानीकर्ताहरू तत्काल जोखिम लिन तयार देखिएका छैनन् । बजार घट्ने क्रम नरोकिएपछि नयाँ लगानी गर्नुभन्दा अहिलेको अवस्था हेरेर निर्णय गर्नेहरू बढेका छन् ।
बजारमा अर्को समस्या कारोबार रकममा देखिएको छ । किनबेचको मात्रा घट्दै जानुले बजारमा पैसाको प्रवाह कमजोर हुँदै गएको संकेत गर्छ । केही लगानीकर्ताले नाफा सुरक्षित गर्न शेयर बेचिरहेका छन् भने नयाँ लगानीकर्ता अझै उपयुक्त अवसरको खोजीमा छन् ।
पूँजी बजार सुधार गर्ने सरकारी प्रतिबद्धताले लगानीकर्ताको अपेक्षा बढाए पनि त्यसको प्रभाव व्यवहारमा देखिन सकेको छैन । नीतिगत सुधार र बजारलाई चलायमान बनाउने ठोस कदमको प्रतीक्षा लगानीकर्ताले गरिरहेका देखिन्छन् ।
यसैबीच आज बुधबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ को विन्दुमा कायम हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये १० उपसूचकमा हरियाली देखिएको छ भने २ उपसूचक राताम्मे भएका छन् । ट्रेडिङ उपसूचक भने आज स्थिर अवस्थामा रहेको छ ।











