सुस्त पुँजी बजारः लगानीकर्ताले गुमाउँदै छन् लगानी, यी हुन् मार्केट नबढ्नुका कारण !

२९ श्रावण २०८३, शुक्रबार १५:०३

काठमाडौँ । लगातार तीन कारोबार दिन सामान्य सुधार देखिएको नेपाली शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः ओरालो लागेको छ । पछिल्ला दिनमा राताम्य यात्राबाट केही सम्हालिएको नेप्सेमा लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा सुधारले निरन्तरता पाउन सकेन । बजारमा खरिद चापभन्दा बिक्री दबाब हाबी भएपछि कारोबारको अन्त्यमा नेप्से पुनः नकारात्मक दिशातर्फ फर्किएको हो ।

बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारलाई प्राथमिकतामा राखेर सकारात्मक धारणा सार्वजनिक गर्दै आएका भए पनि त्यसको तत्काल प्रभाव बजारमा देखिन सकेको छैन । नीतिगत तहबाट आएका सकारात्मक सन्देशले लगानीकर्ताको अपेक्षा बढाए पनि व्यवहारिक रूपमा बजारमा विश्वासको वातावरण निर्माण हुन नसक्दा त्यसको प्रभाव सीमित बनेको देखिन्छ ।

बजारमा देखिएको कमजोरीको अर्को प्रमुख कारण लगानीकर्ताको बढ्दो जोखिम धारणा रहेको विश्लेषण गरिएको छ । सरकारले व्यवसायीमाथि गरिरहेको कारबाही तथा धरपकडले ठूला लगानीकर्ता थप सतर्क बनेको बजारका जानकारहरूको भनाइ छ । व्यवसायिक वातावरणप्रति अनिश्चितता बढ्दा ठूला लगानीकर्ताले तत्काल नयाँ लगानी विस्तार गर्नुभन्दा आफ्नो लगानी सुरक्षित गर्ने रणनीति अपनाएको देखिन्छ । अर्कोतर्फ, साना तथा खुद्रा लगानीकर्ताको खरिद क्षमता र मनोबलले मात्र बजारलाई बलियो रूपमा माथि लैजान नसक्दा नेप्सेमा सुधार टिकाउ बन्न सकेको छैन । केही समूह तथा कम्पनीमा खरिद चाप देखिए पनि समग्र बजारलाई उकास्ने गरी व्यापक माग सिर्जना हुन नसक्दा सामान्य सुधारपछि पुनः नाफा सुरक्षित गर्ने र बिक्रीमा जाने प्रवृत्ति दोहोरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अकंले घटेर २६४३.८३ बिन्दुमा कायम भएको छ । आज ३४४ कम्पनीको ९५ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सुधार देखिएको छ । आज इन्भेष्टमेन्ट समूहको शेयर मूल्य सर्वाधिक घटेको छ ।

शुक्रबार १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*