मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले उठाउँदैछन् ३ अर्ब ऋण

७ भाद्र २०८३, आईतवार १४:०७

काठमाडौं । सेयर बजारमा मार्जिन कारोबारको दायरा विस्तार गर्ने योजनासहित दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले बैंकिङ प्रणालीबाट कुल ३ अर्ब रुपैयाँ कर्जा जुटाउने प्रक्रिया अघि बढाएका छन्। दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन कर्जाका लागि क्रेडिट रेटिङ गराएपछि बैंक ऋण उठाउने बाटो खुलेको हो।

ब्रोकर व्यवसायको मुख्य आम्दानी लामो समयदेखि कारोबार कमिसनमा सीमित रहँदै आए पनि पछिल्लो समय कम्पनीहरूले ब्याज आम्दानीलाई नयाँ स्रोतका रूपमा विकास गर्न थालेका छन्। त्यसका लागि ग्राहकलाई मार्जिन कर्जा उपलब्ध गराउने योजनालाई प्राथमिकतामा राखिएको छ।

करिब १५ वर्षदेखि धितोपत्र बजारमा कारोबार गर्दै आएको दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँसम्मको अल्पकालीन कर्जा उठाउने तयारी गरेको छ। केयर रेटिङ्स नेपालले कम्पनीले लिन लागेको प्रस्तावित कर्जालाई ‘केयर–एनपी ए३’ रेटिङ दिएको छ। हाल कारोबारका आधारमा १८औं स्थानमा रहेको कम्पनीले बैंकबाट प्राप्त हुने रकमको मुख्य हिस्सा लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधा दिन तथा बाँकी कार्यशील पुँजी व्यवस्थापनमा प्रयोग गर्ने योजना बनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ५४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो। कम्पनीको नेटवर्थ ५० करोड ३० लाख रुपैयाँ रहेको छ। तुलनात्मक रूपमा ऋणको भार कम रहेकाले थप कर्जा परिचालनका लागि कम्पनीको वित्तीय अवस्था सहज देखिएको रेटिङसम्बन्धी विवरणले देखाउँछ।

उता, सन् २०२४ देखि व्यावसायिक कारोबार थालेको कलश स्टक मार्केटले पनि १ अर्ब रुपैयाँसम्मको बैंक कर्जा लिने तयारी गरेको छ। छोटो समयमै बजारमा आफ्नो हिस्सा १.१२ प्रतिशत पुर्‍याएको कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी ए४ प्लस’ रेटिङ दिएको छ। कम्पनीका ग्राहक संख्या करिब १७ हजार ३४० पुगेका छन्।

कलशले बैंकबाट तुलनात्मक रूपमा कम ब्याजदरमा रकम जुटाएर ग्राहकलाई त्यसमा थप प्रिमियमसहित मार्जिन सुविधा उपलब्ध गराउने व्यावसायिक रणनीति अघि सारेको छ। स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहको स्वीकृति पाइसकेको कम्पनीको कुल आम्दानीमा अहिले ब्रोकर कमिसनको योगदान करिब ९६ प्रतिशत छ। मार्जिन कर्जा विस्तारसँगै ब्याज आम्दानी बढाएर आम्दानीको संरचना फराकिलो बनाउने कम्पनीको लक्ष्य छ।

बैंकिङ क्षेत्रको कर्जा नीतिमा आएको लचकता र नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको मार्जिन ट्रेडिङसम्बन्धी व्यवस्थाले ब्रोकर कम्पनीलाई यो व्यवसायमा प्रवेश गर्न थप सहज बनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एकल ग्राहक कर्जा सीमामा गरेको वृद्धि र सेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेपछि सेयर बजारसँग सम्बन्धित कर्जा विस्तारका लागि बैंकिङ प्रणालीमा समेत थप स्थान बनेको छ।

सरकारले आगामी दिनमा सर्ट सेलिङ र इन्ट्राडे कारोबार सञ्चालन गर्ने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने नीति अघि सारेको छ। यस्ता व्यवस्थाले बजारमा कारोबारको आकार र तरलता बढाउने अपेक्षा गरिएको छ। त्यसको प्रभावस्वरूप मार्जिन कर्जाको माग पनि बढ्न सक्ने ब्रोकर कम्पनीहरूको अनुमान छ।

तर, मार्जिन कारोबार विस्तारसँगै ब्रोकर कम्पनीको जोखिमसमेत बढ्ने देखिन्छ। सेयर बजारमा तीव्र उतारचढाव हुँदा लगानीकर्ताको कर्जा भुक्तानी क्षमता प्रभावित हुन सक्ने भएकाले ब्रोकरहरूले कर्जा असुली, धितोको मूल्यांकन र तरलता व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*