शेयर बजार सुधारका लागि कांग्रेसको पहल, विज्ञसँग थाल्यो परामर्श

७ भाद्र २०८३, आईतवार १८:१९

काठमाडौँ । नेपाली कांग्रेसले शेयर बजारको वर्तमान समस्या र सुधारका उपायबारे विज्ञहरूसँग परामर्श थालेको छ । पार्टीभित्र र संसदमा आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउन पार्टीका कर्मचारी तथा सांसदलाई आर्थिक रूपमा साक्षर बनाउने उद्देश्यले यस्तो परामर्श सुरु गरिएको कांग्रेस सभापति गगन थापाले बताएका छन् ।

यसैक्रममा कांग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो शृङ्खलाअन्तर्गत सेयर बजारबारे अर्थशास्त्री तथा पुँजी बजारका विज्ञसँग छलफल गरेको हो । कार्यक्रममा सभापति थापाले सेयर बजारको वर्तमान अवस्था, समस्या र चुनौतीबारे पार्टीले गम्भीरतापूर्वक छलफल सुरु गरेको बताए ।

निर्वाचनपछि शेयर बजारले उत्साहजनक गति लिने अपेक्षा गरिए पनि त्यसअनुसार बजार अघि बढ्न नसकेको उनले बताए । “निर्वाचन पछाडि सेयर बजार अत्यन्त राम्रोसँग अगाडि जाला भन्ने अनुमान थियो, तर दुर्भाग्यवश जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,” थापाले भने ।

शेयर बजारले अपेक्षित गति लिन नसक्नुका कारण, बजारमा देखिएका अप्ठ्यारा तथा तत्काल गर्नुपर्ने सुधारका विषयमा विज्ञहरूसँग सुझाव मागिएको उनले जानकारी दिए ।

थापाका अनुसार सुवर्ण शमशेर इकोनोमिक सिरिजलाई तीनवटा श्रेणीमा विभाजन गरेर सञ्चालन गरिनेछ । संसद् र सडकमा बहस भइरहेका समसामयिक आर्थिक विषयमा छलफल गर्ने, सैद्धान्तिक तथा दीर्घकालीन आर्थिक विषयमा विदेशी विज्ञसमेत सहभागी गराएर व्यापक बहस गर्ने तथा नयाँ पुस्तालाई आर्थिक मुद्दासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । नयाँ पुस्ताका लागि फेलोसिप प्रदान गर्ने र पार्टीभित्र नयाँ आर्थिक ज्ञानको विकास गर्ने उद्देश्यसमेत रहेको उनको भनाइ छ ।

कार्यक्रममा प्रस्तुत विषयवस्तु तथा विज्ञबाट प्राप्त सुझावलाई कांग्रेसको विज्ञ टोलीले सङ्कलन गर्ने थापाले बताए । प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारेर पार्टीका सांसदहरूलाई उपलब्ध गराइने उनले जानकारी दिए ।

“हाम्रा सांसदहरूले संसदमा कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउन सकुन् भनेर हामीले यो गृहकार्य गरेका हौँ,” थापाले भने ।

डा. गोविन्द पोखरेलको संयोजनमा भएको कार्यक्रममा अर्थशास्त्री, पुँजी बजारका विज्ञ तथा कांग्रेसका नेताहरूको सहभागिता थियो । सभापति थापाले कांग्रेसले अब राजनीतिक नारामा मात्र सीमित नभई आर्थिक समृद्धिका ठोस एजेन्डा निर्माण गर्न विज्ञहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*