कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० देखि खुल्दै, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ।
आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने समय तोकिएको छ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन अवधि मंसिर २४ गतेसम्म थप हुनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा वा मेरो शेयरमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।











