पहिलो त्रैमासमा हिमालयन रि-इन्स्योरेन्सको नाफा १० करोड ३६ लाख, यस्तो छ कम्पनीको वित्तीय चित्र

३० कार्तिक २०८३, सोमबार ०८:४६

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै कम्पनीको खुद नाफा ५७.८२ प्रतिशतले घटेको छ। जेनजी आन्दोलनबाट सिर्जित आर्थिक दबाबबाट पूर्ण रूपमा तंग्रिन नपाउँदै रसुवामा आएको बाढीका कारण थप चुनौतीपूर्ण परिस्थितिका बीच कम्पनीले नाफालाई सकारात्मक अवस्थामा कायम राख्न सफल भएको छ।

कम्पनीको खुद आर्जित बीमाशुल्कमा पनि उल्लेख्य गिरावट देखिएको छ। गत वर्षको असोजसम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको यस्तो बीमाशुल्क चालु वर्षको सोही अवधिमा ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ।

त्यसैगरी, कुल आम्दानी १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँबाट घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ। कुल आम्दानीमा ३६.१७ प्रतिशतको संकुचन देखिएको छ।

त्यस्तै, कम्पनीको कुल खर्च पनि गत वर्षको ९१ करोड ३ लाख ५३ हजार रुपैयाँबाट घटेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ।  कमिसन खर्च २३ करोड ९ लाख ६९ हजार रुपैयाँबाट घटेर १२ करोड २७ लाख ४० हजार रुपैयाँमा झरेको छ।

यसैगरी, कम्पनीले गत वर्षको सोही अवधिमा ५४ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेकोमा चालु वर्षको असोजसम्म २० करोड २२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

प्रतिसेयर आम्दानीसमेत ९ रुपैयाँ ५ पैसाबाट घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ। कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ, विपत्ति कोष १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र बीमा कोष ८३ करोड ४६ लाख ८६ हजार रुपैयाँमा स्थिर रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*