कागजको पानाबाट डिजिटल पर्दासम्म : नौ दशकमा नेपाल बैंकको बदलिँदो स्वरूप

काठमाडौं । नेपालमा औपचारिक बैंकिङ सेवाको कल्पना सीमित व्यक्तिको सोचमा मात्र रहेको समयमा सुरु भएको एउटा वित्तीय संस्थाले आज आफ्नो स्थापनाको नौ दशक पूरा गर्ने चरण पार गरेको छ । कुनै बेला नगद कारोबार र व्यक्तिगत लेनदेनमै निर्भर रहेको नेपालको अर्थतन्त्रलाई संस्थागत वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यले स्थापना भएको नेपाल बैंक लिमिटेडले ९०औँ वर्षमा प्रवेश गरेको हो । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंक नेपालको बैंकिङ इतिहासको सुरुवाती अध्याय मात्र होइन आधुनिक वित्तीय प्रणाली निर्माणको एउटा महत्वपूर्ण आधारसमेत बनेको छ ।
त्यतिबेला सर्वसाधारणमा बैंकिङ सेवाप्रति पर्याप्त जानकारी र विश्वास थिएन । बचतलाई संस्थागत गर्ने अभ्यास कमजोर थियो भने उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजी जुटाउने भरपर्दो माध्यमको अभाव थियो । यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यसहित १० जना लगानीकर्ताको सहभागितामा नेपाल बैंक स्थापना गरिएको थियो । तत्कालीन समयमा १० लाख रुपैयाँ अधिकृत पुँजी, २५ लाख रुपैयाँ जारी पुँजी र ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी निर्धारण गरिएको बैंकमा सरकारको ६० प्रतिशत र निजी क्षेत्रको ४० प्रतिशत स्वामित्व थियो । राजा त्रिभुवनबाट उद्घाटन भएको बैंक स्थापनाको प्रारम्भिक चरणमै आर्थिक कारोबारलाई व्यवस्थित बनाउने राष्ट्रिय प्रयासका रूपमा अघि बढेको थियो ।
बैंक स्थापना हुनु आफैँमा चुनौतीपूर्ण थियो । औपचारिक बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास स्थापित हुन नसक्दा जारी गरिएको सेयरसमेत पूर्ण रूपमा बिक्री हुन सकेको थिएन । निक्षेप संकलन गर्नु र संकलित रकमलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु पनि सहज थिएन । तर, यही चुनौतीलाई अवसरमा बदल्दै नेपाल बैंकले सर्वसाधारणलाई निक्षेप राख्ने, कर्जा लिने र संस्थागत वित्तीय कारोबार गर्ने अभ्यासमा अभ्यस्त बनाउँदै लग्यो । यसले बैंकिङ सेवालाई सीमित वर्गको पहुँचबाट बाहिर निकालेर आम नागरिकको आर्थिक जीवनसँग जोड्ने आधार तयार गर्यो ।
नेपाल बैंकको योगदान वाणिज्य बैंकिङ सेवामा मात्र सीमित रहेन । नेपाल राष्ट्र बैंक स्थापना हुनुअघिको अवधिमा यसले केन्द्रीय बैंकसँग सम्बन्धित जिम्मेवारीसमेत निर्वाह गरेको थियो । देशको मौद्रिक तथा वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बैंकले वि.सं. २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी मुद्रा निष्कासन गर्दा पनि आवश्यक सहयोग पुर्याएको थियो । त्यसैले नेपालको बैंकिङ विकासक्रममा नेपाल बैंकको इतिहासलाई एउटा संस्थाको प्रगति विवरणका रूपमा मात्र हेर्न सकिँदैन । यो देशमा औपचारिक वित्तीय कारोबार स्थापित हुँदै गएको ऐतिहासिक प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
समयसँगै बैंकिङ क्षेत्रको स्वरूप फेरियो । निजी तथा सरकारी स्वामित्वका नयाँ बैंकहरू स्थापना भए, वित्तीय प्रतिस्पर्धा बढ्यो र प्रविधिले कारोबारको शैली नै परिवर्तन गरिदियो । यस्तो परिवर्तनबीच नेपाल बैंकले पनि आफ्नो सेवा र कार्यशैलीलाई समयअनुकूल परिमार्जन गर्दै आएको छ । बैंकको स्थापना हुँदा १२ जना कर्मचारी र सीमित वित्तीय कारोबारबाट सुरु भएको यात्रा अहिले हजारौँ कर्मचारी, लाखौँ ग्राहक र देशव्यापी सेवा सञ्जालसम्म विस्तार भएको छ ।
बैंकको पछिल्लो वित्तीय विवरणले पनि यसको आकारमा आएको परिवर्तन देखाउँछ । स्थापनाकालको ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी बढेर अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६२ अर्ब रुपैयाँ रहेको बैंकको कुल नेटवर्थ ४२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत र कर्जा निक्षेप अनुपात ६२.८५ प्रतिशत रहेको छ ।
ग्राहक विस्तारका हिसाबले पनि बैंकले उल्लेख्य उपस्थिति बनाएको छ । हाल बैंकका ग्राहक संख्या करिब २९ लाख २४ हजार पुगेको छ । बालबालिकाका लागि बचत खातादेखि व्यक्तिगत आवश्यकता, व्यवसाय सञ्चालन र ज्येष्ठ नागरिकको वित्तीय कारोबारसम्म बैंकले विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । सरकारी बैंकिङ कारोबार सञ्चालन गर्ने जिम्मेवारीसमेत पाएको यस बैंकले व्यावसायिक गतिविधिसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण पक्षका रूपमा लिएको छ ।
देशका विभिन्न भूगोलमा वित्तीय सेवा विस्तार गर्ने उद्देश्यले बैंकले शाखा तथा सेवा केन्द्रको सञ्जाल निर्माण गरेको छ । हाल २३० शाखा, ५७ विस्तारित काउन्टर र २५० वटा एटीएममार्फत बैंकले ग्राहकलाई सेवा दिइरहेको छ । बैंकमा बाह्य स्रोतबाट लिइएका जनशक्तिसमेत गरी करिब तीन हजार ६०० कर्मचारी कार्यरत छन् ।
अर्कोतर्फ, बैंकिङ कारोबारमा प्रविधिको बढ्दो प्रयोगसँगै नेपाल बैंकले डिजिटल सेवामा समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १० लाख पुगेको बैंकले शाखामा पुगेर गर्नुपर्ने कतिपय कारोबारलाई मोबाइल तथा अन्य विद्युतीय माध्यमबाट सहज बनाउने प्रयास गरेको छ । यसले ग्राहकको समय र खर्च घटाउनुका साथै बैंकिङ सेवालाई छिटो, सरल र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ । प्रविधिमा अभ्यस्त नयाँ पुस्तालाई आकर्षित गर्नु र लामो समयदेखि परम्परागत बैंकिङ अभ्यासमा अभ्यस्त ग्राहकलाई पनि डिजिटल सेवामा जोड्नु बैंकका लागि उत्तिकै महत्वपूर्ण विषय बनेको छ ।
नौ दशकको यात्रामा नेपाल बैंकले आर्थिक संरचनामा आएको परिवर्तन, वित्तीय क्षेत्रको प्रतिस्पर्धा र प्रविधिको विकासलाई नजिकबाट अनुभव गरेको छ । स्थापना हुँदा बैंकिङ संस्कृतिको सुरुवात गर्नुपर्ने अवस्थामा रहेको यो संस्था अहिले डिजिटल वित्तीय सेवाको विस्तार र आधुनिक बैंकिङ अभ्याससँग प्रतिस्पर्धा गर्नुपर्ने चरणमा छ । इतिहासको गौरवलाई कायम राख्दै बदलिँदो समयको मागअनुसार आफूलाई रूपान्तरण गर्न सक्नु नै अबको यात्रामा नेपाल बैंकको सफलता मापन गर्ने प्रमुख आधार बन्नेछ ।











