घाटामा रहेको एनएलजी इन्स्योरेन्स नाफामा फर्कियो, पहिलो त्रैमासमै कमायो ३ करोड ५३ लाख

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। गत आवको सोही अवधिमा १० करोड १० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्ष ठूलो घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किनुका साथै बीमाशुल्क आर्जन र कुल आम्दानीमा पनि सुधार गर्न सफल भएको छ। कम्पनीको प्रतिशेयर आम्दानीसमेत ऋणात्मक अवस्थाबाट धनात्मक भएको छ।
कम्पनीको कुल बीमाशुल्कमा ४२.८१ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८२ करोड २१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २१ करोड १० लाख रुपैयाँ पुगेको छ।
बीमाशुल्क आर्जनमा भएको वृद्धिसँगै कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा २१.५९ प्रतिशत बढी हो।

कम्पनीको नाफा बढ्नुमा दाबी भुक्तानी र सञ्चालन खर्चमा आएको कमीले पनि सहयोग गरेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड २३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५५ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसअनुसार दाबी भुक्तानी रकम १३.८४ प्रतिशतले घटेको छ।
त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ५४ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४४ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। खर्चमा भएको १७.९३ प्रतिशतको कमीले कम्पनीको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ। नाफामा सुधार आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक १५ रुपैयाँ ७६ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५ रुपैयाँ ३० पैसा पुगेको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। त्यस्तै विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यमा ९ अर्ब ५ करोड रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा र प्रतिशेयर कुल सम्पत्ति ३८४ रुपैयाँ ७ पैसा रहेको छ।











