दाबी भुक्तानीको चापले सानिमा जीआईसी नोक्सानीमा, अन्य सूचक कस्ता?

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको व्यवसाय र आम्दानीमा वृद्धि भए पनि दाबी भुक्तानी बढ्दा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको नोक्सानी थप बढेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क १७.२१ प्रतिशतले बढेर १३ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो रकम ११ करोड १९ लाख रुपैयाँ थियो। कम्पनीको कुल आम्दानी पनि १३.३४ प्रतिशतले बढेर २४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी २१ करोड ७३ लाख रुपैयाँ थियो।
व्यवसाय र आम्दानीमा सुधार आए पनि बीमा दाबी भुक्तानी बढेपछि कम्पनीको नोक्सानी थप चुलिएको हो। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१.१५ प्रतिशतले बढेर ३९ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम २७ करोड ७४ लाख रुपैयाँ थियो। जेनजी आन्दोलनसँगै बाढीपहिरो तथा अविरल वर्षाका कारण निर्जीवन बीमा क्षेत्रमा परेको दाबीको असरले कम्पनीको वित्तीय अवस्थामा दबाब परेको हो।

यस अवधिमा कम्पनीको खुद नोक्सानी २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ नोक्सानीमा थियो। नोक्सानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ५ पैसा ऋणात्मक भएको छ। नोक्सानी बढे पनि कम्पनीको बीमा व्यवसाय र बजार पहुँच भने विस्तार भएको छ। समीक्षा अवधिमा कम्पनीले जारी गरेका बीमालेखको संख्या बढेर ४१ हजार ४७७ पुगेको छ। गत वर्षको सोही अवधिमा यो संख्या ३१ हजार ४५७ थियो।
कम्पनीको कुल सम्पत्ति पनि बढेर १३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ८ अर्ब ८० करोड रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८२ पैसा र प्रतिशेयर कुल सम्पत्ति मूल्य ५८६ रुपैयाँ ७७ पैसा रहेको छ। त्यस्तै कम्पनीको जोखिम बहन क्षमता अनुपात (सोल्भेन्सी मार्जिन) ५.८५ गुणा रहेको छ।











