आईजीआई प्रुडेन्सियलको नाफामा उल्लेख्य सुधार, पहिलो त्रैमासमा कमायो ३ करोड रुपैयाँ

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको पहिलो तीन महिनामा ३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार बीमा व्यवसाय विस्तार भएको र खर्च घटेको कारण नाफामा सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क २४ करोड १२ लाख रुपैयाँबाट बढेर ३४ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २१.२८ प्रतिशतले बढेर ५५ करोड ८६ लाख रुपैयाँ पुग्दा कुल खर्च २२.९० प्रतिशतले घटेर ५१ करोड ५२ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको बीमा व्यवसाय विस्तारसँगै जारी बीमालेखको संख्या पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० हजार ८१७ वटा बीमालेख जारी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ७७ हजार ८९७ वटा बीमालेख जारी गरेको छ।
कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट धनात्मक बनेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षको समीक्षा अवधिमा ४ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४२ पैसा रहेको छ।
तीन अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल सम्पत्ति बढेर १५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको जोखिम बहन क्षमता जनाउने सोल्भेन्सी अनुपात ५.०४ गुणा रहेको छ।











