चौधरी ग्रुपले काठमाडौं उपत्यकामा हडपेका सरकारी जग्गाबारे फेरि खोजविन शुरु

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको मौका छोपेर अदालत प्रवेश गरेर विवादित सरकारी जग्गा सम्बन्धका फाइलहरु जलाउन लगाउने भू-माफिया र अदालतका विचौलियाविरुद्ध काठमाडौं उपत्यकाका सम्पदाप्रेमी तथा गुठीयारहरुले फेरि कागजात जुटाएका छन् ।
उनीहरुले अदालतबाट हराएका वा जलेका कागजातहरु फेरि भेला पारेर फाइल खडा गरेका हुन् । उनीहरुले काठमाडौं, ललितपुर र भक्तपुरमा भएका सरकारी तथा गुठीका जग्गा अपचलनलाई लिएर आसन्न प्रतिनिधि सभा निर्वाचनमा समेत दल तथा उम्मेदवारलाई प्रश्न गर्ने योजना बनाएका छन् ।
आफुहरुले गरेको संघर्षलाई स्थानीय जनप्रतिनिधि र सार्वजनिक प्रशासन तथा न्यायालयले गम्भीर रुपमा नलिएका कारण जेनजी आन्दोलनका नाममा जनताको आक्रोश विष्फोट भएपछि त्यसलाई बेवास्ता गरेर नीति निर्माताहरु अझै पनि सत्ता कै दौडधूपमा लागेको भन्दै उनीहरुले नागरिकस्तरबाट फेरि विद्रोहको तयारी गरेका हुन् । अब उनीहरुले भूमाफिया र विचौलियाविरुद्ध कानूनी कारबाहीको बाटोसँगै सार्वजनिक बहिस्कारको नीतिमा अघि बढ्ने योजना बनाएका छन् ।
काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर ठड्याइएको छायाँ सेन्टर भत्काउने वा सरकारीकरण गर्ने भन्ने सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निधो गर्नै लागेका बेला जेनजी आन्दोलनले केही कागजात मिसमास भएकामा पुनः फाइल खडा भएर पेशी तोक्ने तयारी भएको बुझिएको छ ।
उता, ललितपुरमा चौधरी ग्रुप सीजीले ललितपुरका विभिन्न ठाउँमा सरकारी जग्गा मिचेर बनाएका भौतिक संरचना हटाइनु पर्नेमा गुठीयारहरु एक मत भएका छन् । उनीहरु आसन्न निर्वाचनमा पनि आफुहरु सम्पदा बचाउ अभियानमा योगदान गरेकाहरुलाई मात्रै सहयोग गर्ने र अस्तित्वको निर्णायक लडाइ लड्ने निष्कर्षमा पुगेका छन् ।
वस्तुको व्यापारबाट सेवामूलक व्यवसायतर्फ मोडिएको अर्बपति घराना सीजीले ललितपुरका विभिन्न ठाउँमा कब्जा गरेका जग्गाहरुबारे पनि खोजविन सुरु भएको हो । चौधरी समूहले ललितपुर महानगरका ३, १८, २५ लगायत अन्य वडामा सार्वजनिक अर्थात् पर्ति जग्गा मिचेको तथ्य बीमापोष्टले पटक-पटक सार्वजनिक गरेको छ । सीजीको कर्पोरेट कार्यालय रहेको ठाउँ (पुल्चोकबाट पश्चिम)छेउमा स्थानीयका घर जग्गा जमिन जोखिममा पारेर सीसीले अपार्टमेन्ट खडा गरेको छ भने स्थानीयलाई क्षतिपूर्ति दिने सन्दर्भमा पनि आनाकानी गरिरहेको बुझिएको छ ।
सैनिक कल्याणकारी कोषको जग्गामा अन्र्तराष्ट्रिय स्ट्यान्डर्डको होटल खोलेको चौधरी समूहले साझा प्रकाशन छेउको (४-४) रोपनी सरकारी जग्गा कब्जा गरी टुक्रा–टुक्रा पारेर विक्रि गरिसकेको छ । जुन जग्गा रातो मत्स्येन्द्रनाथको रथ निर्माण गर्ने ञवाल गुठीको भएको सरकारी लिखत छ । ञवाल गुठीयारहरुलाई फुटाएर एकाध व्यक्तिलाई प्रलोभनमा पारी मालपोत, नापीदेखि न्यायालयसम्म सेटिङ मिलाएर कब्जा गरिएको जग्गा सात भन्दाबढी टुक्रामा विभाजन गरेर विक्रि गरिएको छ ।
ञवालहरुले संघर्ष गरेर मत्स्येन्द्रनाथको रथ निर्माण गर्नु भन्दाअघि कूल पूर्जा गर्ने र भोज खाने गरेको उक्त जमिन अदालतको आदेश अनुसार अरुण चौधरी संलग्न हिमालयन इन्टरप्राइजेजको भएको जिकिर सीजीले गर्दै आएको छ । पहिलो चरणमा सर्वोच्च अदालतले २०६२ कार्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशमा टेकेर २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिन्छ ।
यो जग्गालाई हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ । चौधरी ग्रुप त्यो जग्गा आफ्नो नाममा पार्न पटक-पटक न्यायालय पुगेको देखिन्छ । यो पर्ति जग्गा हत्याउन न्यायालयमा सेटिङ गर्ने वकिलहरु अहिले पनि विशेष अदालतमा दायर भएका भ्रष्टाचार र अनियमितता सम्बन्धी मुद्दाको मिलानमा लागेका बताइन्छ ।
ञवालहरूको कुल देवतास्थल रहेको पुल्चोकमा २ आना जग्गा मात्रै बाँकी छ । ञवालहरुको कुल देवता हटाउन सीजीले कयौं जोडबल गरिरहेको छ । तर, उनीहरुले २ आनामा खुम्चिएको जग्गामा कूल देवता पूजा गरेर भोज भने सार्वजनिक बाटोमै लाइन लागेर खाने गरेका छन् । उनीहरुले ललितपुरका मेयर चिरिबाबु महर्जनलाई पटक–पटक गुठी तथा सार्वजनिक जग्गा संरक्षणका लागि पहल गर्न आग्रह गर्दा सुनेको नसुन्यै गरेको आरोप ञवालहरुले लगाएका छन् । अब यो जग्गा विवादबारे उनीहरू अदालत जाने तयारी गरिरहेका छन् ।

उता, १८ नम्बर वडास्थित नख्खु ओरालोमा निर्माणाधीन सीजी हिल्स प्रिमियम छिर्ने बाटो नै सार्वजनिक जग्गा कब्जा गरेर खोलेको तथ्य छ । जसबारे ललितपुर जिल्ला अदालतमा मुद्दा नै परेको छ । बाटै नभएको ठाउँमा सीजीले सार्वजनिक जग्गा कित्ताकाट गर्न लगाएर बाटोखोलेर हाउजिङ निर्माण गरेको हो । पर्ति जग्गा कित्ताकाट गरेर सीजीले बाटो मात्रै बनाएन, सँगैका सँधियारबीच झगडा समेत गरायो ।
सँधियारहरूलाई आपसमा भिडाएर सीजीले फाइदा लुट्यो । सीजीले एकै दिनमा नापी र मालपोत कार्यालयबाट सार्वजनिक जग्गाको कित्ताकाट देखि सबै प्रक्रिया पूरा गरेको देखिन्छ । त्यसरी बाटो निकाल्दा उत्पन्न विवादले मोहोडाको जग्गा र त्यस पछाडिको जग्गावालाबीच अहिले पनि झगडा कायमै छ । वडा नम्बर २५ मा समेत सीजीले हाउजिङ बनाएर पर्ति अर्थात् सरकारी जग्गामा पर्खाल हाल्नेदेखि पालेघर र अन्य अफिसियल संरचनाहरु निर्माण गरेर निर्धक्क बसेको छ । स्थानीयले त्यसको विरोध गरे पनि सम्बन्धित निकायले सुनेको छैन ।
त्यहाँ पनि सीजीले रातो मत्स्येन्द्रनाथसँग जोडिएको जग्गा नै हडपेको छ । जहाँ जात्राका बेला मत्स्येन्द्रनाथको रथ तथा जात्रा रोकिंदा विश्राम गर्ने ठाउँ हो । सीजीले सार्वजनिक जग्गा कति मिचेको छ भन्नेबारे खोजविन गर्न स्थानीयले सार्वजनिक जग्गा संरक्षण, समिति समेत बनाएका थिए । जहाँ अनुमानित ७-९ आना सार्वजनिक जग्गा कब्जा गरेर सीजीले आफ्ना संरचना बनाएको छ भने कतिपय जग्गा बाटोको नाममा भोगचलन गरिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार:












