ललितपुरमा पनि चौधरी ग्रुपले सरकारी जग्गा कब्जा गरेको खुुलासा, रातो मच्छिन्द्रनाथको जग्गा खोई ?

२१ माघ २०८०, आईतवार १५:३३

काठमाडौं । औद्योगिक घरानाको नामले परिचित चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी शेयरसहित १० रोपनी जग्गा कब्जा गरेको प्रकरणले बजार तताइरहेको छ ।

सरकारी जग्गा हिनामिनामा चौधरी समूह बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा मात्रै सिमित छैन । ललितपुरमा समेत चौधरी समूहले विभिन्न ठाउँमा सरकारी जग्गा मिचेर हाउजिङ निर्माण गरेको रहस्य खुलेको छ ।

चौधरी समूहले ललितपुर महानगरका १८, २५ लगायत अन्य वडामा सार्वजनिक अर्थात् पर्ति जग्गा मिचेको तथ्य बीमापोष्टलाई प्राप्त भएको छ । सीजीको कर्पोरेट कार्यालय रहेको ठाउँ (पुल्चोकबाट पश्चिम)मा निर्माणधिन अपार्टमेन्टले सार्वजनिक जग्गा मिचेको बताइदैछ ।

उता, १८ नम्बर वडास्थित नख्खु ओरालोमा निर्माणाधीन सीजी हिल्स प्रिमियम छिर्ने बाटो नै सार्वजनिक जग्गा कित्ताकाट गरेर खोलेको तथ्य सार्वजनिक भएको छ । जसबारे ललितपुर जिल्ला अदालतमा मुद्दा समेत परेको छ ।

बाटै नभएको ठाउँमा सीजीले सार्वजनिक जग्गा कित्ताकाट गर्न लगाएर बाटोखोलेर हाउजिङ निर्माण गरिरहेको हो । पर्ति जग्गा कित्ताकाट गरेर सीजीले बाटो मात्रै बनाएन, सँगैका सँधियारबीच झगडा समेत गराइदिएको छ । सँधियारहरुलाई आपसमा भिडाएर सीजीले फाइदा लुटेको छ । पैसा र पावरको बलमा सीजीले एकै दिनमा नापी र मालपोत कार्यालयबाट सार्वजनिक जग्गाको कित्ताकाट देखि सबै प्रक्रिया पूरा गरेको बताइँदैछ । सीजीले त्यसरी बाटो निकाल्दा मोहोडाको जग्गा र त्यस पछाडिको जग्गावालहरु अहिले आपसमा भिडिरहेका छन् । यसबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले जग्गाको क्षेत्रफल र कित्तालगायतका विवरण सार्वजनिक नगर्न रिट निवेदक स्थानीयले आग्रह गरेका छन् ।

यसबारेमा जनप्रतिनिधि र महानगरपालिका समेतलाई थाहा भए पनि कुनै कारबाही अघि बढेको छैन । वडाध्यक्ष दामोदर खड्काले यसमा सार्वजनिक जग्गालाई बाटो भनेर उल्लेख गरेर नापी कार्यालयले मुख्य बदमासी गरेको बताएका छन् । उनले भने, ‘नापीले सार्वजनिक जग्गामा बोटो भनेर देखाइदिएपछि सीजीले स्थानीय समेतलाई अफ्ठेरो पर्ने गरी एकलौटी बाटो हालेको देखिन्छ । प्रश्न उठाउँदा नक्सामा भए अनुसार नै गरेको हो भन्ने जवाफ दिने गरेको छ ।’

उता, वडा नम्बर २५ मा समेत सीजीले हाउजिङ बनाएर पर्ति अर्थात् सरकारी जग्गामा पर्खाल हाल्नेदेखि पालेको डिउटी गर्नेदेखि अन्य अफिसियल संरचनाहरु निर्माण गरेर निर्धक्क बसेको छ । स्थानीयले विरोधसम्म गर्न सकेका छैनन् ।

अचम्म के भने रातो मच्छिन्द्रनाथको जात्राका बेला मच्छिन्द्रनाथको रथ तथा जात्रा रोकिंदा विश्राम गर्ने ठाउँ नै मिचेर सीजीले संरचना निर्माण गरेको छ । सार्वजनिकमध्ये कति जग्गा सीजीले मिचेको छ भन्नेबारे खोजविन गर्न स्थानीयले सार्वजनिक जग्गा संरक्षण, समिति बनाए पनि अहिलेसम्म कुनै प्रगति हासिल भएको छैन । अनुमानित ७–९ आना सार्वजनिक जग्गामा सीजीले आफ्ना संरचना बनाएको छ भने कतिपय जग्गा बाटोको नाममा भोगचलन गरिरहेको् बुझिएको छ ।

यी सबै घोटाला गर्ने चौधरी फाउण्डेशनका अध्यक्ष अहिले पनि अर्वपति व्यापारी एवं सांसद विनोदन चौधरी हुन् भने उनका भाइ अरुण चौधरी बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिनामा पक्राउ परेका छन् । समान अंशियार एवं एउटै व्यवसायिक घराना दुबै दोषको समान भागिदार भएपनि भाइ अरुण पक्राउ पर्दा विनोद कानूनको पञ्जामा परेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*