कोरोना महामारीकै बीचमा बीमा व्यवसायमा चमत्कार, बीमा पोलिसी संख्या ७२ लाख पुग्यो

५ चैत्र २०७७, बिहीबार १६:४५

काठमाडौं । विश्वभर कोरोना महामारीले समग्र अर्थतन्त्र खुम्चिदै गइरहेको समयमा नेपालको बीमा व्यवसायमा भने चमत्कारिक सुधार आएको अर्थमन्त्रालयले आज प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ ।

अर्थमन्त्रालयको बुलेटिनमा हालसम्म कायम बीमा पोलिसी ७२ लाख ४३ हजार ५०० पुगेको उल्लेख छ । अघिल्लो आवको तुलनामा यस आवमा बीमा पोलिसी संख्या ९ प्रतिशतले बृद्धि भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको बीमा व्यवसाय ३२.२० प्रतिशतले बृद्धि भएको अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ ।

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कलाई आधार मानेर गरिएको विश्लेषणमा अर्थतन्त्रको ब्याकबोनको रुपमा रहेको बीमा क्षेत्रमा कोरोनाको प्रभाव न्यून देखिदै उच्च दरको बृद्धि हासिल गर्न सम्भव भएको हो । अघिल्लो आर्थिक बर्षमा ६९ अर्ब ९२ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरिएकोमा यस वर्ष ९२ अर्ब ४१ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन भएको छ ।

विश्लेषण महाशाखाका अनुसार बीमाको व्यवसाय बृद्धि हुँदा बीमाको पहुँचमा समेत बृद्धि भएको छ । माघ मसान्तसम्ममा नेपालको कूल जनसंख्याको २२ दशमलव ८ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बीमाको पहुँच १.९ अंकले बृद्धि भएको छ । अघिल्लो वर्ष बीमाको पहुँच २०.९ प्रतिशत थियो । बैदेशिक रोजगार म्यादी बीमा पोलिसीको संख्या समेत जोड्दा कूल बीमाको पहुँच २५.२० प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*