ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?

२६ फाल्गुन २०७७, बुधबार १८:४४

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले नपाएको नेपालको इतिहासमा यो पहिलो घटना हो ।

आईपिओ भरेका कूल १८ लाख ५० हजार (भोलिसम्म बैंकबाट भरेको समेत गणना गर्दा अनुमानित) मध्ये पाँच लाख ९४ हजारले जनही १० कित्ताको दरले शेयर पाउनेछन् भने बाँकीको हात खाली हुनेछ । सो आधारमा १२ लाख ५६ हजार मानिसको हात खाली हुनेछ ।

कसरी हुन्छ धेरै मानिसको हात खाली ?

प्राथमिक शेयरमा सबैभन्दा पहिलो समय सीमाभित्र परेका आवेदकलाई वितरण गरिन्छ । सो समयसीमाभित्र आवेदन नपरेमा ढिलोमा बन्द हुने समय (थप एक महिना) अवधीसम्म थप गरी आवेदन लिइन्छ । आवेदन दिने सीमाभित्र आवश्यक भन्दा बढि आवेदन परेमा गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिन्छ । धितोपत्र बोर्डले सबैले शेयर पाउने व्यवस्था गर्नको लागि न्यूनतम १० कित्ता सबैले पाउनु पर्ने व्यवस्था लागू गरेसँगै अहिले न्यूनतम १० कित्ता सबैलाई वितरण गर्ने पहिलो प्राथमिकता हुनेछ ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड गर्दा न्यूनतम १० कित्ताको दरले पनि जम्मा पाँच लाख ९४ हजार जनाले मात्रै शेयर पाउनेछन् । बाँकीको हात खाली हुनेछ । सो आधारमा कूल ३१ प्रतिशतले न्यूनतम १० कित्ताको दरले शेयर पाउने छन् भने ६९ प्रतिशतको हात खाली हुनेछ । नेपाल धितोपत्र बोर्डले साधारण शेयरमा आम सर्वसाधारणको पहुँच बृद्धिका लागि यस्तो नीति लागू गरेको थियो ।

गत पर्वको असारमा जम्मा साढे दुई लाख जनाले भर्ने आईपिओ ९ महिनाको अवधीमा १८ लाख जनाले आवेदन दिने अवस्थामा पुगेको छ । शेयर र आईपिओबारे जनतामा व्यापक मात्रामा जनचेतना बृद्धि हुन पुग्दा शेयर भर्ने प्रवृत्ति बढ्दै गएको छ भने गाउँ गाउँमा बैंकको पहुँच पुगेका कारण समेत प्राथमिक शेयरमा आवेदन दिनको संख्या बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*