चार करोडको बीमा गरेको ३३ दिनमा बीमितको मृत्यु, रिलायबल नेपाल लाइफले १७ महिनापछि गर्यो दावी भुक्तानी

१० बैशाख २०७८, शुक्रबार १३:२६

काठमाडौं । पेशाले निर्माण व्यवसायी, मसिना कन्ट्रक्सन कम्पनीका मालिक हरि प्रसाद पन्तले जीवनमा धेरै रकम कमाए र सिध्याए । २०७६ सालको दशैंअघि उनलाई बीमा गर्ने भूत चढ्यो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता राजेन्द्र सिं साउदले पटक पटक भेटघाट गरेर बीमा गर्न प्रस्ताव गर्दै आएका थिए । निर्माण व्यवसायी मासिक करोडौं रुपैयाँको कारोबार गर्ने पन्तले पाँच करोडको बीमा गर्न राजी भए । अन्ततः उनले पाँच करोड रुपैयाँको बीमा गर्ने प्रस्तावमा फारम भरी कम्पनीमा बुझाए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अण्डराईटिङले पन्तको प्रस्तावलाई पूर्ण रुपमा विश्वास गर्न सकेन र चार करोड रुपैयाँको बीमा पोलिसी २०७६ साल असोज २४ गते काटियो । पाँच लाख ५४ हजार ६०० रुपैयाँ तिरेर बीमा गरेका पन्त आफ्नो पेशा व्यवसायमा रमाइरहेका थिए । दिन बाजा बजाएर आउँदैन, कालले सूचना दिएर प्राण हर्दैन भने झै कञ्चनपुरस्थित बेदकोट–९ सुन्दरपुरस्थित घरैमा रहेका पन्तलाई २०७६ कार्तिक २६ गते हृदयघात भयो । तत्कालै महाकाली अञ्चल अस्पताल पुर्याइयो । अस्पताल पुर्याउँदा उनको प्राण गइसकेको थियो । अस्पतालले प्राकृतिक हिसाबले मृत्यु भनेर प्रमाणित गर्यो ।

चार करोड रुपैयाँको बीमा गरेको ३३ दिनमै बीमितको मृत्यु भएपछि कञ्चनपुरमै रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चासो राख्यो । मृतकका आफन्तले बीमा दावीको लागि कुनै प्रमाण चाहिन्छ भनेर सोधे, तत्कालै भिसेरा परिक्षण गर्ने निर्णय गरियो । अस्पतालले नमुना लिएर सतगत गर्नको लागि शव आफन्तलाई बुझायो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा दावी पर्यो । मृतकी श्रीमती परुदेवी पन्तले बीमा पोलिसी, मृत्यु प्रमाणपत्र अस्पतालको कागजात समेत राखेर दावी भुक्तानीको लागि निवेदन दिईन् । अभिकर्ता साउदले समेत दावी भुक्तानी चाँडो गराउन खटिए । अस्पतालबाट भिसेरा परिक्षणको रिपोर्ट आउन बाँकी थियो । लकडाउन २०७६ चैत्र ११ गतेबाट लकडाउन लागेपछि उनको दावी भुक्तानी प्रक्रियामा केही ढिलाई भएको रिलायब लाइफ इन्स्योरेन्सको कञ्चनपुर शाखाका प्रमुख राजेन्द्र प्रसाद भट्ट दावी गर्दछन् । ५० वर्ष उमेर पुगेका व्यक्तिको चार करोडको बीमा गरिएको, बीमा पोलिसी काटेको ३३ दिनमै बीमितको मृत्यु भएको अवस्थामा विभिन्न अनुसन्धान गर्न समय लागेको भट्ट बताउँछन् ।

सुलभ जीवन बीमा योजना अन्तर्गतको पोलिसी खरिद गरेका उनले बीमांक रकम बराबरको मात्रै रकम प्राप्त गरेका हुन् । त्रैमासिक बीमा शुल्क बुझाउने शर्तमा बीमा गरेका पन्तले आफू कालगतिले मृत्यु भए पनि बाँचेका परिवारको जीवन सहज बनाउन सफल भएका छन् ।

बीमा समितिका बीमा दावी भुक्तानी छिटो, छरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै आएपनि बीमितको मृत्यु भएको १७ महिनापछि गरिएको दावी भुक्तानीमा चेक हस्तान्तरण गर्न बीमा समितिका अध्यक्ष आफै पुगेका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमा कम्पनीहरु बीमितलाई दावी भुक्तानी दिन सक्षम रहेको बताए । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मानिसको जीवन अनिश्चित हुने भएकोले बीमा गरेर भावी सन्ततीको भविष्य सुरक्षित बनाउनुपर्ने बताए । ‘यस्ता घटनाले हाम्रो भविष्य जहिले पनि अनिश्चित छ भन्ने कुरा अवगत गराएको छ अहिले हामीसँग भएको रकम मध्ये केहि रकम भविष्यका लागि प्रयोग गर्यौ भने भोलिका दिनमा आफु नहुँदा पनि परिवारले अभाव झेल्नु पर्दैन’ अध्यक्ष सिलवालले भने । स्थापनाको तीन वर्ष ७ महिनामै यति ठुलो रकम दाबी भुक्तानी गर्नुले पनि बीमा कम्पनीहरु बीमा व्यवसाय गर्न सक्षम रहेको अध्यक्ष सिलवालले दाबी गरे । यस घटनाले बीमा कम्पनीले साच्चिकै व्यवसाय गर्छ भन्ने कुरा स्थापित गरेको सिलवालले बताए ।

सो दावी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाबापत प्राप्त रकम पुनः परिवारका सदस्यहरुको बीमामा खर्च गर्नु उत्तम हुने सुझाव दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठुलो दाबी भुक्तानी गरिएको दाबी गर्दै बीमितलाई सम्झौता बमोजिमको भुक्तानी गर्न बीमा कम्पनीहरु प्रतिबद्ध रहेको जनाउँदै बीमालाई अझै फराकिलो बनाउनुपर्ने बताए ।

सामान्यतया मृत्यु दावी भुक्तानी ४५ दिनभित्र गरिसक्नुपर्ने भएपनि रिलायल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको मृत्यु भएको १७ महिना १० दिनभित्र मात्रै दावी भुक्तानी गरेको हो । कम्पनीले भिसेरा रिपोर्ट परिक्षण गर्ने मौका समेत पाएकोले दावी भुक्तानीमा कही कतै शंका गर्ने ठाउँ समेत राखेको छैन । कम्पनीका अनुसार कम्पनीमा परेका दावी भुक्तानी मध्ये ९९ प्रतिशत भन्दा बढि फस्र्योट गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*