‘सुरक्षित जीवन बीमा पोलिसी’ परिमार्जन गर्दै नेपाल लाइफ, बीमा शुल्कमा छुट सुविधा

१५ बैशाख २०७८, बुधबार १५:०४

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले आगामी जेठ १ गतेदेखि लागू हुने गरी सुरक्षित बीमा पोलिसी संशोधन गर्दैछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी दिग्बिजय सिंहका अनुसार उक्त पोलिसी बन्द गरी जेठ १ गतेदेखि नयाँ सुरक्षित जीवन बीमा योजना औपचारिक रुपमा बिक्री हुनेछ ।

पुरानो बीमा पोलिसीमा रहेको नीतिगत दोहोरोपना हटाउन नयाँ बीमा पोलिसी जारी गर्न लागिएको कम्पनीले जनाएको छ । बीमा समितिको स्वीकृतिमा कम्पनीले नौलो सुरक्षित जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमा योजना अन्तर्गतको उक्त बीमा योजनामा १८ वर्षदेखि ७० वर्ष उमेर समुहका मानिसहरु सहभागी हुन पाउनेछन् । उक्त नयाँ बीमा पोसिलीमा क्रिटिकल इलनेशको सुविधा भने पाइने छैन । तर, कुनै कारणमा बीमितको मृत्यु भएको बीमाङ्क रकममा बोनस थप गरी भुक्तानी गरिने छ । त्यस्तै दुर्घटना मृत्युलाभ सुविधा लिएको अवस्थामा बीमाङ्क रकममा शत प्रतिशत थप गरी बोनस समेत रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

परिमार्जित बीमा योजनामा तीन वर्षको बीमा शुल्क भुक्तान गरेपछि सम्पूर्ण मूल्य प्राप्त गर्नुका साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसअघि ११ वर्षदेखि ६० वर्षसम्मका मानिसले खरिद गर्न सक्ने उक्त पोलिसीमा उमेर बढाउनु पर्ने बाध्यताको कारण संशोधन गरिएको हो । साथै बीमा समितिले लागू गरेको नयाँ व्यवस्था अनुसार जीवन बीमा पोलिसीमा घातक रोगको बीमा सुविधा नदिने व्यवस्था अनुसार नयाँ सुरक्षित बीमा योजनाबाट घातक बीमा सुविधा हटाइएको छ ।

न्यूतम् पाँच हजार रुपैयाँदेखि माथि आम्दानीको स्रोत अनुसार बीमा गर्न सकिने उक्त पोलिसी आम सर्वसाधारण नेपालीहरुले मन पराउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*