नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

२९ असार २०७८, मंगलवार १०:२५

काठमाडौं । २०७७ साल असोज २८ गते विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसूचक १५६१ थियो । उनले अर्थमन्त्रालय सम्हालेको नौ महिनामा शेयर बजारमा मूल्य बृद्धि यति धेरै भयो कि जिडिपीभन्दा बढि कूल बजार पुँजिकरण भइसकेको छ । उनको नौ महिने कार्यकालमा नेप्से परिसूचक कूल १२९३ अंकले बृद्धि भएको छ । उनी अर्थमन्त्रीमा नियुक्त हुँदा नेप्सेमा सूचिकृत कम्पनीहरुको कूल बजार पुँजिकरण २० खर्ब ८० अर्ब ८५ करोड मात्रै थियो । नौ महिनापछि अर्थमन्त्रालयबाट बाहिरिँदै गर्दा नेप्सेमा सूचिकृत कम्पनीहरुको कूल बजार पुँजिकरण ३९ खर्ब ७१ अर्ब दुई करोड रुपैयाँ छ ।

यही परिदृष्यका बीच अर्थमन्त्री विष्णु पौडेल हिजोबाट आउट भएसँगै धितोपत्र बजारमा भने त्रास उत्पन्न भएको छ । नयाँ अर्थमन्त्री को आउने हो र त्यसले समग्र बजारमा कस्तो प्रभाव पार्छ भन्ने हिसाब किताब सुरु भएको छ ।

निवर्तमान अर्थमन्त्री विष्णु पौडेलको यसअघिको बहिर्गमनपछि शेयर बजारमा निकै ठूलो ह्रास आएको विगतका कारण शेयर बजारमा त्रास बढेको लगानीकर्ताहरुको भनाई । अहिले पनि शेयर बजार देशको कूल ग्राहस्थ उत्पादनभन्दा माथि पुगेका कारण कुनै पनि बेला अप्रिय अवस्था आउनसक्ने विश्लेषण र अझै बढ्न सक्ने दुवै खाले विश्लेषणहरु सुन्न सकिन्छ । यद्यपि नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुले कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गरेर विश्लेषणको आधारमा मात्रै लगानी गर्न र भविष्यमा कुनै जोखिम आइपरेको खण्डमा गुनासो गर्न यसअघि नै अपिल जारी गरिसकेको छ ।

शेयर बजार उच्च बिन्दुमा पुगेको अवस्थामा अर्थमन्त्री फेरिएपछि सर्वसाधारणमा त्रास फैलिएको हो । एक वर्षअघि नियुक्त भएका अर्थमन्त्री आउट हुनु र केन्द्रीय बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने समय समेत आएकोले लगानीकर्ताहरुले सचेततापूर्वक कारोबार गर्ने अनुमान गरिएको छ । शेयर बजारबारे यसैहुन्छ भनेर विश्लेषण गर्न नसकिने भएपनि लगानीकर्ता मैत्री अर्थमन्त्री बाहिरिएसँगै लगानीकर्ताहरुको छाती ढुक्क फुलेको अवस्थामा पुगेकाले लगानीकर्ताको लागि परिस्थिति सकारात्मक रुपमा मान्न सकिने अवस्था देखिदैन ।

राजनीतिक कारण जे सुकै भएपनि आर्थिक अवस्था, वित्तीय सूचांकको आधारमा शेयर बजार सञ्चालन हुनुपर्नेमा नेपालमा त्यसो हुन सकिरहेको छैन । गत वर्ष निवर्तमान अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री भएपछिको नौ महिनामा नेप्से परिसूचक १५६१ बाट बढ्दै अहिले २८५६ मा पुगेको छ । ऐतिहासिक रेडर्क ३००० को बिन्दु छोएर फर्किएको नेप्से स्थिर रहने अनुमान गर्नेहरु पनि छन् । विष्णु पौडेल अर्थमन्त्री भएकै कारण बढेको शेयर मूल्य उनी पदबाट हटेपछि घट्न सक्ने एकाथरीको विश्लेषणलाई बैज्ञानिक मान्न नसकिए पनि सेटिङ, कर्नरिङमा चल्ने नेपालको शेयर कारोबारका लागि यथार्थपरक हुनसक्नेतर्फ सबै सचेत हुनु जरुरी छ ।

One thought on “नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*