४५ लाख लगानीकर्तालाई डुबाएर बिदा हुँदै जनार्दन शर्मा प्रभाकर, अर्थमन्त्रीको बिदाई बेलुन फुलाउने बहाना नबनोस्

१९ मंसिर २०७९, सोमबार ०७:४०

शेयर बजार टिप्पणी

२०७८ साल असार २९ गते जनार्दन शर्माले अर्थमन्त्रालयको कारोबार सम्हाल्दा शेयर बजारमा गुल्जार थियो । पुँजि बजारको कारोबार गर्ने प्लेटफर्म नेप्सेमा समग्र मूल्य सूचांक २८५४ थियो भने कूल बजार पुँजिकरण ४० खर्ब हाराहारीमा पुगेको थियो ।
तर, अहिले अवस्था फेरिएको छ । जनार्दन शर्माको करिब १६ महिने कार्यकालमा देशको अर्थतन्त्रको अवस्था भयावह छ । चित्र डरलाग्दो छ । बैंकहरुबाट प्रवाह हुने ऋण पूर्ण रुपमा बन्द छ । सहकारी संस्थाहरुले बचत फिर्ता गर्न सकिरहेका छैनन् ।

आयात गर्नै नसक्ने अवस्था छ । तै पनि अर्थमन्त्री शर्मा सार्वजनिक भाषणमा देश आर्थिक रुपमा समृद्ध रहेको भन्दै फलाक्न छोडेका छैनन् । गाउँमा कुनै मानिस बिरामी पर्दा पाँच हजार सापटी चलाउन नसक्ने अवस्था छ । जनताले दैनिक रुपमा भोगिरहेको चर्को समस्याबारे भाषण गर्र्दा अर्थमन्त्री शर्मा भने विज्ञ र पत्रकारहरुले भ्रम फैलाएको भन्दै गाली गर्दै हिडिरहेका छन् । जसको प्रत्यक्ष असर शेयर बजारमा पर्यो र लाखौं लगानीकर्ताहरु स्तब्ध हुने गरी फस्न पुगेका छन् । अहिले ४५ लाख लगानीकर्ताहरुले देशको अर्थतन्त्र बिगारेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई सरापीरहेका मात्रै छैनन्, यिनी कहिले जान्छन् र नयाँ अर्थमन्त्रीको रिफर्म योजनाले अर्थतन्त्र सुधारको दिशामा गएर पुँजि बजारमा हिजोको दिन फर्कन्छ भनेर कुरिरहेका छन् ।

शर्र्मा अर्थमन्त्री अघिका अर्थमन्त्री विष्णु पौडेलले आफ्नो नौ महिने कार्यकालमा शेयरको समग्र मूल्यसूचांक नेप्से १५६१ बाट बृद्धि भई २८५४ पुगेको थियो । पौडेल अर्थमन्त्री बनेको दिन कूल बजार पुँजिकरण २० खर्ब ८० अर्र्ब ८५ करोड मात्रै थियो । उनले अर्थमन्त्रालय छोड्ने दिने नेप्सेमा उछाल थियो भएर २८५४ भन्दा माथि थियो भने बजार पुँजिकरण ३९ खर्ब ७१ अर्ब दुई करोड रुपैयाँ थियो । पौडेलको नौ महिने कार्यकालमा शेयर बजार १२९३ अंकले बृद्धि भएको थियो । अहिले शेयर बजारमा कूल बजार पुँजिकरण घटेर २८ खर्ब २३ अर्ब ९७ करोड ७५ लाख २१ हजार ८५६ रुपैयाँमा सीमित भएको छ । जनार्दन शर्माको कार्यकालको १६ महिनाको अवधीमा लगानीकर्ताहरुले झण्डै १२ खर्ब गुमाएका छन् । जनार्दन शर्माको कार्यकालमा थुप्रै मानिसहरु शेयर बजारमा आएको गिरावटबाट सडकमा पुुगिसकेका छन् भने हजारौंले यो पेशा नै छोडेर पलायन भइसकेका छन् ।

शर्माले अर्थमन्त्रालय सम्हालेको बेला निकै ठूलो उत्साह थियो । दैनिक नौ अर्बमाथिको व्यवसाय भइरहेको थियो । त्यस यता लाखौं कित्ता शेयर नेप्सेमा सूचिकृत भइसकेका छन् । त्यसले औषत शेयरको मूल्य अझै घटेको देखिएको छ । यसका पछाडिका कारण जनार्दन शर्मामा अर्थतन्त्रका बारेमा सोच र योजनाहरु नहुनु अनि बजेटमा अर्थतन्त्रभित्र चलखेल गर्ने माफियालाई कडार्ई गर्न नसक्नु तथा आफू समेत विवादित काण्डहरुमा फस्नु मुख्य कारणको रुपमा अघि आएको छ ।

जनार्दन शर्र्माको कार्यकाल नेपाली जनताले धेरै आशा गरेका थिए । जनार्दन शर्माले विगतमा अध्यारो अवस्थामा रहेको नेपाली जनताको घरमा लोडसेडिङ हटार्ई उज्यालो ल्याएकोले त्यस्तै आशा गरेका थिए अनि विश्वास । तर, त्यो आशा टुटेको छ अनि विश्वास भत्किएको छ र कहिले जान्छ भनेर दिन ढुकेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । चमत्कारिक रुपमा लोडसेडिङ हटाएका जनार्दन शर्मा प्रभाकरमाथि सिंगो माओवादी पार्टीले त विश्वास गरेकै थियो, आम जनता जस्तै शेयर बजारमा समेत अझै गुल्जार हुुनसक्ने आशा, विश्वास र भरोशा लागनीकर्ताहरुमा थियो । सोही कारण शर्माले अर्थमन्त्रालय सम्हाले लगत्तै शेयर बजार ह्वात्तै बढेको समेत थियो । तर, त्यो विश्वास, त्यो आशा र भरोसालाई प्रभाकरले लामो समय टिकाउन सकेनन् । जब अर्थमन्त्री जनार्दन शर्मामा अर्थतन्त्रको आधारभूत ज्ञानकै समस्या देखिन थाल्यो तब अर्थतन्त्रका खेलाडीहरु थप मौकाको फाइदा उठाउन थाले । जसको परिणाम आज सबैका सामू छर्लङ्ग छ ।

जनयुद्धको समयमा प्रभाकर भन्ने वित्तिकै तत्कालिन नेपाली सेना समेत डराउँथे । जनमुक्ति सेनाको कमाण्डर प्रभाकर यतिबेला नेपालको अर्थमन्त्री पदमा आसिन छन् । नेपाली जनताको मुक्तिका लागि गरेको संघर्षको नेतृत्व गर्दा जुन छवि थियो आज ठीक त्यसको विपरित बन्न पुगेको छ । परिवर्तन र मुक्तिका लागि संघर्ष गरेका प्रभाकरको व्यक्तिगत जीवन परिवर्तन भयो, क. प्रभाकर आज अर्थमन्त्री जनार्दन शर्मा बने तर उनले सपनाको विपरितको यात्राका कारण विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुले सम्मान र गर्व गर्न लायक बनेका क. प्रभाकर आज ४५ लाख शेयर लगानीकर्ताहरुको तिरस्कार आक्रोस व्यक्त गर्ने अर्थमन्त्री जनार्दन शर्माको रुपमा निरिह जीवन यापन गरिरहेका छन् ।

सामान्यतयाः क्रान्तिकारीहरु, योद्धाहरु शत्रुसँग मिलेर आफ्नो बर्गका विरुद्धमा कुनै हर्कत गर्दैनन् । मृत्यु स्वीकार गर्र्दछन् तर शिर निहुराउँदैनन् । तर, क. प्रभाकर बनेका जनार्दन शर्मा पछिल्लो समय विरोध र आलोचनाहरु सुने नसुने झै गर्दै हिडिरहेका छन् । उनको कार्यशैली आक्रोसपूर्ण बन्दै गइरहेको छ र अब पार्टीमा समेत माफियाको स्वार्थ पूरा गर्ने एजेण्डा बोकेर हिडिरहेका छन् । उनको झण्डै १६ महिने अर्थमन्त्रीको कार्यकालमा देश विदेशमा रहेका ४५ लाख भन्दा बढि शेयर लगानीकर्ताहरुलाई स्तब्ध मात्रै पारेनन् कैयौंलाई सडकमा पुर्याएका छन् । यो सिंगो अवस्थाको अपजस वर्तमान सरकारमाथि मात्रै थोपिएको छैन अपितु माओवादी पार्टी र माओवादी आन्दोलनमाथि समेत कालो दाग बन्न पुगेको छ ।

शेयर लगानीकर्ताको घाँटी निमोठिने अवस्था र अर्कोतर्फ देशको अवस्था चरम र जर्जर हुनुका पछाडि अर्थमन्त्री शर्मा जिम्मेवार छन् । आफू अर्थमन्त्री भएपछि उनले सार्वजनिक गरेको स्वेतपत्र हेरुन र अहिले आफूले छोड्नु अघि पनि श्वेतपत्र जारी गरेर मात्रै विदा होउन अनि थाहा हुन्छ देशको अवस्था के भएछ र के के गर्न सकिएनछ भनेर ।

निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया छिट्टै सुरु हुँदैछ । अबको केही दिनपछि नै जनार्दन शर्मा अर्थमन्त्रालयबाट विदा हुँदैछन् । नयाँ अर्थमन्त्री को बन्छ त्यो सरकार कुन गठबन्धनमा आधारित हुन्छ सो आधारमा भर पर्नेछ । शेयर लगानीकर्ताहरु अहिले जनार्दन शर्माको विदाई हेर्न हतारिएका छन् । कतै उनको बिदाई हुने वित्तिकै शेयर बजारमा पुरानो युग सुरु हुन्छ कि ? यद्यपि देशको आर्थिक अवस्थामा सुधार नआई कुनै व्यक्ति हटेकै नाममा शेयर बजारका माफियाहरुलाई पुँजि बजारलाई बेलुन झै फुलाउने मौका नदिन सबै लगानीकर्ताहरुको सचेत हस्तक्षेप आवश्यक छ । स्वाभाविक बृद्धि दीगो हुनेछ भने बेलुन झै गरिएको बृद्धि एक दिन अवश्य विस्फोट हुनेछ ।

 

विष्णु पौडेलको नौ महिने कार्यकालमा के भएको थियो ? हेरौं

नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*