प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क र नाफा दुवै घट्यो

२९ बैशाख २०७९, बिहीबार ०९:२७

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६५ करोड ३६ लाख रुपैयाँ बीमा कोषमा संचित गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कोषहरुको आकारमा बृद्धि भएको हो ।

त्यस्तै, यस अवधिसम्म जगेडा कोषको आकार २०.६९ प्रतिशतले बढेर ३१ करोड ५५ लाख रुपैयाँ संचित रहेको छ भने महाविपत्ती कोषको आकार भने ५४.४० प्रतिशतले घटेर २२ करोड १७ लाख रुपैयाँ मात्रै संचित रहेको छ । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सले ५४ करोड ६१ लाख रुपैयाँ महाविपत्ती कोषमा संचित गरेको थियो ।

समग्रमा प्रुडेन्सियल इन्योरेन्सको कोषमा जम्मा रकम ८.१५ प्रतिशतले बृद्धि भई ९९ करोड १३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, यता कोषको आकार बढेपनि इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जनमा भने गिरावट आएको छ । गत आवमा १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको इन्स्योन्सले यस आवको चैत मसान्तसम्म १ अर्ब १० लाख रुपैयाँ मात्रै आर्जन गर्न पुगेको छ । जुन गत आवको तुलनमा ५.२८ प्रतिशतले कम हो ।

समिक्षा अवधिसम्म इन्स्योरेन्सको व्यवस्थापन खर्च समेत १५.१६ प्रतिशतले बृद्धि भएर १६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खर्च बढेसँगै आम्दानी पनि घट्न पुगेको छ । लगानी, कर्जा अन्यबाट आय यस अवधिसम्म ९.१६ प्रतिशतले घटेर १२ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।

आम्दानी घटेसँगै यस अवधिसम्म प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १०.७५ प्रतिशतले घटेर ११ करोग ३६ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सको खुद नाफा १२ करोड ७३ लाख रुपैयाँ रहेको थियो । यस अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ९.७० प्रतिशतले बढेर १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको चुक्तापुँजी ७.७४ प्रतिशतले बृद्धि भएर १ अर्ब १० करोड ५८ लाख रुपैयाँ पुगेको छ । साथै जारी बीमा पोलिसी संख्या घटेर १ करोड ६ लाख २८५ मा कायम भएको छ ।

यस अवधिसम्म इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ४३ पैसा, पिं.ई. रेसियो ४३.१३ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७२ रुपैयाँ ४५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*