बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल

२ जेष्ठ २०७९, सोमबार ०७:०१

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् ।

केहि दिन अगाडी मात्र हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि सहमति गरिसकेका छन् भने तीन जीवन कम्पनी गुराँस, युनियन र प्राइम लाइफबीच गाभ्ने गाभिनेबारे सम्झौता भइसकेको छ । सम्झौता भइसकेको भएपनि जीवन बीमा कम्पनीहरु मर्जरका लागि सोचेजस्तो सजिलो भने छैन ।

उता, बीमा समितिले मर्जरका लागि दवाव दिन थालेपछि थप आधा दर्जन बीमा कम्पनीहरु मर्जरमा जानेबारे छलफल गरिरहेका छन् । थप दुई निर्जीवन बीमा कम्पनीहरु एक आपसमा गाभिने तयारी गरेका छन् । त्यस्तै, तीन जीवन बीमा कम्पनीहरुपनि मर्जरमा जानको लागि तयारी गरिरहेको स्रोतले जनाएको छ । आइएमई जनरल र नेपाल इन्स्योरेन्स मर्जर गर्नेबारे छलफल अघि बढेको छ । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्ससँग आईएमई ग्रुपको क्रस होल्डिङ भएकाले मर्जर गर्नै पर्न दवाव भएपनि त्यति सजिलो भने छैन । यी दुबै कम्पनीका संचालकहरुबीच मर्जर तथा प्राप्तिमा जानेबारे करिब करिब सहमती जुटिसकेको छ ।

नेपाल इन्स्योरेन्सको चुक्तापुँजि एक अर्ब २४ करोड रहेकोछ भने आईएमई जनेरलको १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापुँजि जोड्दा करोड दुई अर्ब ३९ करोड नाघ्नेछ । यी दुबै कम्पनीले पहिला पनि मर्जरको लागि एक चरणको छलफल सम्पन्न भएको स्रोतले जनाएको छ । एशियन लाइफ र महालक्ष्मी लाइफ कम्पनीबीचपनि मर्जर तथा प्राप्तिको बारेमा बजारमा हल्ला चलेको भएपनि मर्जरको सम्भावना भने कम रहेको स्रोतले जनाएको छ ।

उता, सुर्या लाइफ र ज्योति लाइफबीच पनि मर्जरमा जाने सम्भावना रहेको चर्चा बजारमा चल्न थालेको छ । आइएमई समुहको लगानी भएको आईएमई लाइफ र रिलायबल लाइफबीच पनि मर्जर तथा प्राप्तिको सम्झौताको सम्भावना बढी रहेको बताइन्छ । बीमा समितिले पुँजि बृद्धिको लागि दिएको दवावपछि आतंकित बनेका बीमा कम्पनीहरुले बीमा समितिलाई देखाउनकै लागि भएपनि मर्जर सम्झौता गर्न हतार हतार लागि परेका छन् ।

आतंक मच्चाएर गर्न खोजिएको मर्जर प्रक्रिया पूरा हुन्छ वा बीचैमा अलपत्र पर्छ त्यो भने हेर्न बाँकी छ । जीवन बीमा कम्पनीहरुको बोनसदर लगायतका झन्झटिलो अवस्थाका कारण पनि जीवन बीमा कम्पनीहरु मर्जरका लागि प्राविधिक रुपमा समेत त्यति सजिलो भने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*