लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

६ असार २०७९, सोमबार २३:५३

काठमाडौं । सर्वसाधारण जनताले धान्नै नसक्ने गरी पेट्रोल, डिजेलको मूल्यबृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर लागत बृद्धि भएको भन्ने नेपाल आयल निगमको दावी झुठा भएको प्राप्त तथ्याङ्कहरुले देखाएको छ । निगमले आईओसीबाट प्राप्त खरिद मूल्य नै झुठो देखाएर सर्वसाधारणलाई ठगी गरी अर्बौ रुपैयाँ घोटाला गरिएको तथ्य बीमापोष्टले फेला पारेको छ । नेपाल आयल निगममा अर्बौ रुपैयाँ घोटाला भएको प्राप्त तथ्याङ्कहरुले औल्याएको छ । इन्धनको कारोबार गर्न एकाधिकार प्राप्त नेपाल निगममा नयाँ व्यवस्थापकको रुपमा इन्जिनियर उमेश प्रसाद थानीको प्रवेशसँगै बढाइएको इन्धनको मूल्यभित्रका अर्बौ रुपैयाँ घोटाला भएको तथ्य बीमापोष्टले ‘ट्रेस’ गरेको छ ।

भारत र नेपालमा इन्धनको मूल्यमा निकै ठूलो अन्तर पाइएपछि गरिएको अध्ययनको क्रममा नेपाल आयल निगमले सार्वजनिक गरेको विवरण नै कीर्ते भएको फेला छ । नेपाल आयल निगमले वास्तविक मूल्य भन्दा २२ प्रतिशत बढि मूल्य असुल गरेको पाइएको छ । यसको पछाडि व्यवस्थापक थानीले आईओसीका व्यवस्थापकसँगको मिलोमतोमा अर्बौ रुपैयाँ तलमाथि गरेको तथ्याङ्कले औल्याएको छ ।

भारतमा जम्मा ५७ रुपैयाँ भारु (९१.४ नेपाली रुपैयाँ) मा बेस रेटमा आईओसीले इन्धन उपलब्ध गराउँदै आएको छ । दिल्लीका लागि तोकिएको बेसरेट भन्दा नेपालले रिफाइनरीबाटै उठाउँदा अझै सस्तो पर्न जानुपर्नेमा उल्टै कृत्तिम मूल्य खडा गरेर जनताको टाउकोमा अत्याधिक भार थोपरिएको पाइएको छ । भारतको नयाँ दिल्लीमा बेसरेटमा स्थानीय, संघीय सरकारले लिने कर थप गरेर ९६.७२ रुपैयाँ भारुमा खुद्रा बिक्री भइरहेको पेट्रोल नेपालमा भने २१२.५८ रुपैयाँ अर्थात १३२.८६ रुपैयाँ भारु लागत पर्ने कुरा झुठा र कृत्तिम भएको पुष्टि भएको छ ।

नेपाल आयल निगमका उच्च अधिकारीले आईओसीका उच्च अधिकारीसँगको मिलेमतोमा कृत्तिम मूल्य राखेर इन्धनको कारोबार गरिरहेको विवरणहरुले देखाएको छ । निगमले जनतालाई झुठा विवरण प्रकाशन गरी इन्धनको चर्को मूल्य असुल गरिरहेको तथ्यले देखाएको छ । बीमापोष्टले भारतीय आयल कर्पोरेशनसँगबाट बेस रेट प्राप्त गरी अध्ययन गर्दा यस्तो तथ्य उजागर भएको हो ।

 

 

नेपाल आयल निगमले इन्धन खरिद गर्ने इण्डियन आयल कर्पोरेशनले जम्मा ५७ रुपैयाँमा सरकारलाई थप कर तिरेर ९६ रुपैयाँ भारुमा इन्धन बिक्री गर्दै आएको छ । भारतमा लाग्ने कर नेपालमा आउने इन्धनलाई लाग्दैन । तर नेपालमा छुट्टै कर लाग्छ । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले माफियासँगको सेटिङमा आईओसीबाटै मूल्यमा गडबढ गरी उपभोक्तामाथि गम्भिर प्रकृतिको अपराध गरिरहेको तथ्याङ्कले देखाएको छ । आईओसीले बेस प्राईसमा नेपालमा इन्धनमा उपलब्ध गराउनुपर्नेमा उतैबाट कमिशन सेटिङमा अर्बौ रुपैयाँको खेल भइरहेको छ ।

प्राय सधैं नेपालमा भन्दा भारतमा इन्धनम महंगो हुने कारण त्यहाँको महंगो कर प्रणाली हो । तर यस पटक नेपालमा भारतमा भन्दा २२.८१ प्रतिशतले महंगोमा इन्धन बिक्री वितरण भइरहेको छ । पछिल्लो समय भारतमा इन्धनमा लगाइएको कर केही सस्तो बनाएको मात्रै नभई नेपालमा पनि पूर्वाधार कर हटाइएको छ । यति हुँदा पनि निगमले लगातार इन्धनको मूल्य बृद्धि गर्दै आएको छ ।

भारतीय आयल कर्पोरेशनले भारतमै बेस रेट ५७.१३ रुपैयाँ राखेर इन्धन बिक्री वितरण भइरहेको जनाएको छ । साप्ताहिक रुपमा मूल्य निर्धारण हुने भारतमा पछिल्लो पटकको जुन १६–२२ सम्मको तथ्याङ्क अनुसार कर, डिलर कमिशन, ढुवानी भाडा समेत भारतमा ३९.५९ रुपैयाँ थप शुल्क लिई ९६.७२ भारुमा इन्धन कारोबार भइरहेको छ । नेपालमा भने नेपाल आयल निगमले एक लिटर पेट्रोलको मूल्य नेपाल आईपुग्दा २१२.५८ रुपैयाँ अर्थात १३२.८६ रुपैयाँ भारु लागत दावी गर्दै आइरहेको छ । जुन पूर्णतः झुठा भएको तथ्य आईओसीको पेट्रोलको इन्धन मूल्य सम्बन्धी यस विवरण प्रमाणित गर्छ ।

नेपाल आयल निगम र आईओसीबीचमा भएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय अभ्यास अनुसार मूल्य निर्धारण गर्ने विधि अन्तर्गत भारतीय बजारमा पठाउने मूल्यभन्दा रिफाइन गरिएको इन्धनमा सामान्य मुनाफा राखेर दिनुपर्ने शर्त छ । तर, यस पटक आईओसीले नै उच्च मुनाफा राखेर नेपाललाई इन्धनको मूल्य सूचि पठाएको देखिएको छ ।

ठूलो भल्युममा इन्धन खरिद गर्ने हुँदा बेस रेटभन्दा अझै कम मूल्यमा इन्धन दिने शर्त छ । ५७.१३ बेसरेटकै आधारमा हिसाब गर्दा समेत नेपाली रुपैयाँ ९१.४ रुपैयाँमा आईओसीले नेपाललाई इन्धन दिनुपर्ने हुन्छ । तर निगमले सार्वजनिक गरेको विवरणमा पेट्रोल प्रतिलिटर भारतले दिँदा प्रतिलिटर १०१.९१ रुपैयाँ पर्ने उल्लेख गरेको छ । निगमकै आधारमा पनि प्रलिलिटर १० रुपैयाँको दरले घोटाला भएको पुष्टि हुन्छ । भारतीय बजारको बेस रेट अनुसारको मूल्यमा नेपालमा लाग्ने कर ६५.६१ रुपैयाँ प्रतिलिटर थप गर्दा १५७.०१ रुपैयाँ हुन आउँछ । उक्त मूल्यमा ढुवानी भाडा, बीमा, प्राविधिक लस, निगमको प्रशासनिक खर्च र कमिशन समेत जोड्दा १४.३७ रुपैयाँ थप गर्दा पेट्रोलको कूल लागत १७१.३८ रुपैयाँमा कूल लागत पर्ने देखिन्छ । यो इन्धनको घटेको मूल्य अनुसारको कर समायोजन गर्दा १६५ भित्रैमा सीमित हुनेदेखिन्छ । निगमले पट्रोलको मूल्य प्रतिलिटर लागत २१२.५८ पुगेको देखाएकोमा आईओसीको तथ्याङ्क अनुसार प्रतिलिटर ४१.२० रुपैयाँ फरक पर्न आएको छ । यसले समेत निगमले उपभोक्तासँग मासिक अर्बौ रुपैयाँ ठगी गरिरहेको तथ्याङ्कहरुले उजागर गरेको छ ।

निगमले मासिक छ करोड लिटरभन्दा बढि पेट्रोल भारतबाट आयात गर्दै आएको छ । सो आधारमा निगमभित्र मासिक दुई अर्ब ५० करोड भन्दा बढि घोटाला भएको तथ्याङ्कले औल्याएको छ । यद्यपि उक्त तथ्याङ्कहरुको थप परिक्षण र प्रमाणिकरण गरेर मात्रै यकिन तथ्याङ्क र घोटालाको विवरण सार्वजनिक गर्न सकिनेछ ।

 

 

2 thoughts on “लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*