अर्थमन्त्रीको निर्देशनपछि पनि पाएन आइपीओ र हकप्रद निष्कासनको अनुमति, के भन्छ बोर्ड ?

३ बैशाख २०८१, सोमबार १४:३२

काठमाडौँ । गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन रहेको छ । हाल डा.नवराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । निमित्तको भरमा बोर्ड हुँदा काम कारबाही अघि बढ्न सकेको छैन ।

अर्बौ रकमको आइपीओ र हकप्रद स्वीकृत समेत पाएका छैनन् । पूर्वअध्यक्ष हमालले आफ्नो कार्यकाल सकिनु भन्दा एक दिन अघि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएका थिए । उनको सोहि अनुमति अन्तिम हुन पुगेको हो । लामो समयसम्म धितोपत्र बोर्डको पाइपलाइनमा आइपीओ निष्कासन गर्ने कम्पनीहरुको चाङ लाग्दा लगानीकर्ता निराश बनेका छन् । अध्यक्ष पद रिक्त भएपछि आइपीओ र हकप्रद शेयर निष्कासन स्वीकृतिको बिषय अघि बढ्न सकेको छैन ।

बोर्डमा आइपीओ निष्कासन गर्न माग गर्दै आवेदन दिने कम्पनीहरुको चाङ लागेपछि अर्थमन्त्री वर्षमान पुनले चासो देखाए । उनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न निर्देशन दिए । अर्थमन्त्रीले दिएको निर्देशन हप्तौ वित्दा समेत अघि बढ्न सकेको छैन ।

अर्थमन्त्रीको निर्देशनपछि निमित्त प्रमुख अधिकारले प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न दिएका आवेदन स्वीकृति दिने जनाएका थिए । तर, लामो समय भइसक्दा समेत दर्जनौ कम्पनीको शेयर निष्कासन प्रक्रिया अन्यौलमा परेको छ ।

के गर्दै छ बोर्ड ?

आइपीओ स्वीकृति अनुमतिका लागि बस्ने गरेको संचालक समितिको बैठक निष्कर्षमा दिन नसकेको निमित्त प्रमुख अधिकारीले बताए । उनले भने, ‘अर्थमन्त्रालयको निर्देशनपछि संचालक समितिलाई सबै कुरा जानकारी दिएका थिए । तर, संचालक समितिले प्रक्रिया अघि बढाउनका लागि कुनै कदम अघि बढाउन सकेको छैन’।

शेयर निष्कासन अनुमतिको अधिकार कार्यकारीलाई दिने बारे छलफल भएपनि अन्तिम बिन्दुमा संचालक समिति पुग्न नसकेको उनले बताए । ‘शेयर निष्कासनका लागि संचालक समिति, नयाँ समिति र कार्यकारीलाई दिने भन्ने बारे छलफल भएको थियो । अनुमतिको अधिकारी कार्यकारीलाई दिए म प्रक्रिया अघि बढाउछु’ अधिकारीले भने ।

संचालक समितिको बैठकले अनेकौ बहाना बनाएर अनुमति दिने विषयमा अन्यौल सिर्जना गरी रहेको बोर्डका एक उच्च अधिकारीले बताए । उनले भने, ‘संचालक समितिको बैठक बेला–बेला बस्ने गर्छ । तर अनुमति दिने विषयमा संचालकहरुबीच नै कुरा मिलि रहेको छैन । अनेकौ बहाना भइरहेकोछ ।’

धितोपत्र बोर्डको अध्यक्ष बन्ने लाइनमा नेप्सेका कार्यकारी कृष्ण बहादुर कार्की, बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाई, सेबोनकै कार्यकारी निर्देशक डा. नबराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम छनौट गरेको थियो । बोर्ड अध्यक्षका सर्ट लिस्टमा छनोट भएका ५ जनाको नामप्रति अर्थमन्त्री पुनले सन्तुष्ट छैनन् । सर्ट लिस्टमा छनोट भएका ५ जनाको नामप्रति पुनले असन्तुष्टि जनाएपछि चैत २९ गतेका लागि बोलाएको कार्यपत्र प्रस्तुति प्रक्रिया नै रोकिएको छ ।

अर्थमन्त्री वर्षमान पुन आज अर्थात बैशाख ३ गते विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । पुन ३ दिनका लागि अमेरिका गएका हुन् । उनी विदेशबाट नर्फिकिएसम्म बोर्डको अध्यक्ष छनोट प्रक्रिया अघि बढ्न नसक्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ । ‘ कार्यपत्र प्रस्तुति प्रक्रिया स्थगित भएको छ । अब कहिले बोलाउने भन्ने विषयमा टुङ्गो लागेको छैन । सम्भवः अर्थमन्त्री अमेरिकाबाट फर्किएपछि मात्र यो प्रक्रिया अघि बढ्छ होला’ स्रोतले भन्यो ।

अधिकारीका अनुसार प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् । हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आईपीओ अनुमति माग गर्दै स्वीकृति पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*