एक अर्ब २४ करोड रुपैयाँको आईपिओ निष्काशन माग गर्दै सानिमा लाइफ र युनियन लाइफ धितोपत्र बोर्डमा

१ असार २०७८, मंगलवार ०९:००

काठमाडौं । २०७४ सालदेखि बीमा सेवा सुरु गरेका दुई जीवन बीमा कम्पनी सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेका छन् । दुई कम्पनीले कूल एक अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड २४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न आवेदन दिएका हुन् ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग अनुमति माग गर्दै यही जेठ ९ गते बोर्डमा आवेदन दिएको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओले इक्रा आईआर एनपी बीबीबी रेटिङ पाएको छ । ट्रिपल बी रेटिङ औषत भन्दा राम्रो मानिने भएकोले युनियन लाइफको आईपिओमा लगानी गर्नु सुरक्षित रहेको देखिन्छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कूल चुक्ता पुँजिको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा यही जेठ ९ गते नेपाल धितोपत्र बोर्डमा दिएको छ । सानिमा लाइफको आईपिओले बीबीबी माइनस रेटिङ पाएको छ । ट्रिपल बी माइनस रेटिङको अर्थ औषतभन्दा राम्रो हो । यद्यपि युनियन लाइफ भन्दा सानिमा लाइफ केही तल देखिएको छ ।


दुवै कम्पनीले एकै दिन नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि निवेदन दिएका हुन् । दुवै कम्पनीको निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड रहेको छ । प्रभु क्यापिटलले दुवै कम्पनीको एकै दिन प्रक्रिया अघि बढाएको हो । धितोपत्र बोर्डमा आवेदन दिएका दुवै कम्पनीको आईपिओ लकडाउन हटेर केही सहज बन्ने वित्तिकै खुल्ने जनाइएको छ । उक्त दुई कम्पनीले असारभित्रै अनुमति पाई आईपिओ खुल्ला गर्न सक्ने प्रभु क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डका अनुसार अपर हेवा खोला जलविद्युत कम्पनी २० लाख कित्ता आईपिओ निष्काशनको लागि बोर्डमा निवेदन दर्ता गराएको छ । त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीको २९ लाख ५१ हजार ९२९ कित्ता आईपिओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । जलविद्युत कम्पनीका आईपिओ निष्काशन केही समय लाग्ने गर्दछ ।

बोर्डमा हालसम्म पाइपलाइनमा भएको आईपिओ सूचि अनुसार तीन अर्ब २५ करोड तीन लाख १७ हजार ९०० रुपैयाँको आईपिओ निष्काशनको लागि पाइपलाइनमा रहेको देखिएको छ । सो सूचिभित्र मानुषी लघुवित्त वित्तीय संस्था, अपरसोलु हाइड्रो इलेक्ट्रिसिटी, सयपत्री हाईड्रोपावर तथा साहस उर्जा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*