कृषि उद्यमीलाई दिइएको सहुलियतपूर्ण कर्जामा ग्लोबल आईएमई बैंकको कैंची, सरकारी अनुदान रकम किसानसँग असुल गरिँदै

२७ असार २०८०, बुधबार ०८:२६

काठमाडौं । सरकारलाई कृषि उद्यमलाई प्रोत्साहन गर्न पाँच करोड रुपैयाँसम्मको कृषि उद्यम सहुलियतपूर्ण कर्जामा ग्लोबल आइएमई बैंकले कैंची चलाउन थालेको खुलेको छ । किसानले पाउनुपर्ने कृषि कर्जाको अनुदान रकम सम्झौता विपरित ग्लोबल आइएमई बैंकले ऋणीसँग असुल उपर गरेको तथ्य फेला परेको छ ।

ग्लोबल आइएमई बैंकबाट कृषि उद्यम कर्जा लिएका ऋणीहरुसँग बैंकले असार २५ गतेभित्र साँवा र किस्ता तिर्न पटक पटक पत्राचार गरेको पाइएको छ । समयमा साँवा र किस्ता तिर्ने ऋणीहरुले सो अनुदान नपाउने हुँदा त्यसरी सहुलियतपूर्ण ऋण लिएका कृषि उद्यमहरुले धमाधम सावा ब्याज तिर्नु परेको गुनासो गरेका छन् ।

किसानहरुले ग्लोबल आइएमई बैंकबाट आफूहरु ठगिएको गुनासो गरेका छन् । सुरुमा ८.५ प्रतिशत ब्याजदरमा ऋण दिने सम्झौता गरेकोमा अहिले कृषि ऋणको ब्याजदर बढाएर करिब १३ प्रतिशत पुर्याएको नवलपरासीका एक कृषकले गुनासो गरेका छन् । एक किसानले बीमापोष्टसँग भने, ‘हामीलाई झुक्याएर सम्झौता गरियो, ८.५ प्रतिशत ब्याजदर सम्झौता गरियो अहिले १२.५ प्रतिशत ब्याजदर भनेर बैंकले पैसा मागेको माग्यै छ ।’ झापाका एक किसानले बैंकले सरकारबाट प्राप्त अनुदान रकम दुरुपयोग गरी किसानलाई मार्ने काममा ग्लोबल आइएमई बैंक लागि परेको गुनासो गरेका छन् । बीमापोष्टको सम्पर्कमा आएक एक किसानले भने, ‘अनुदान रकम बैंक आफैले खाएर हामीसँग पैसा आएको त छैन ? यसको छानविन कसले गर्ने ?’

यस्तै प्रकृतिका कर्जा प्रवाह गरेका अन्य बैंकहरुले किसानकै खातामा रकम जम्मा गरेर सरकारसँग शोधभर्ना लिइरहेकोमा ग्लोबल आइएमई बैंकले भने किसानसँगै असुल गरेको गुनासो गरेका छन् ।

स्रोतका अनुसार ग्लोबल आइएमई बैंकले गत कार्तिकदेखि सहुलियतपूर्ण ऋणको ब्याज अनुदान बापतको रकम किसानसँग असुली गर्दै आएको छ । तर, बैंकका सूचना अधिकारी सुरेन्द्रराज रेग्मीले किसानसँग रकम असुली नगरिएको दावी गरेका छन् । उनले भने, ‘सरकारबाट रकम आएको छैन तर हामीले किसानसँग अनुदान रकम असुलेका छैनौं ।’ तर, बीमापोष्टलाई प्राप्त ऋणीको बैंक स्टेटमेन्टमा अनुदान रकम समेतको रकम असुली गरेको देखिएको छ ।

सरकारले कृषिको व्यवसायिककरण गर्न कृषि उद्यमलाई पाँच करोड रुपैयाँसम्म कर्जाको पाँच प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गर्यो । सो अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नै व्यवस्था गरेर पाँच करोड रुपैयाँसम्मको कृषि उद्यम कर्जाको ब्याज पाँच प्रतिशत बैंकले नै भुक्तानी गर्ने र पछि नेपाल सरकारले सट्टाभर्ना गर्ने गरी व्यवस्था गरियो । यस्तो व्यवस्था अन्तर्गत देशैभरिका कृषि उद्यमीहरुले विभिन्न बैंकहरुबाट कर्जा लिएका छन् ।

ग्लोबल आइएमई बैंक नेपालको नियामकीय निणर्यहरु र निर्देशनहरुलाई धोती लगाउँदै चलेको बैंक हो । प्रधानमन्त्री प्रचण्डसँग निकट सम्बन्ध बनाएका र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रहेर काम गरेका रत्नराज बज्राचार्य सिईओको रुपमा कार्यरत रहेका छन् । सोही कारण ग्लोबल आइएमई बैंकका कैयौं गैर कानुनी र नियामकीय निर्देशन विपरितका कार्यमा समेत राष्ट्र बैंकले नतिजामुखी कारवाही गर्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*