बोर्डको निर्देशिका कागजका पानामा सीमित, मर्जर प्रक्रियामा रहेका कम्पनीको शेयर महिनौदेखि रोक्का

दिपक विष्ट
१८ बैशाख २०८१, मंगलवार १४:०१

काठमाडौँ । धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका,२०७९ अनुसार एकीकृत कारोबार सुरु भएको दिनबाट १५ कार्य दिनसम्म कारोबार रोक्का राख्न पाउने व्यवस्था गर्‍यो । सो बेलाका बोर्डका अध्यक्ष रमेश हमालले कम्पनी मर्जरमा जाँदा महिनौँसम्म कारोबार रोक्का हुँदा लगानीकर्ता मारमा परेको भन्दै उक्त निर्देशिका जारी गरेका थिए ।

निर्देशिका बमोजिम मर्जर प्रक्रियामा गएका कम्पनीहरूले १५ दिन भित्र आफ्नो कारोबार खुल्नु पर्ने हुन्छ । तर, महिनौँसम्म कारोबार खुला नगर्दा लगानीकर्ता मारमा त परेकै छन् यता बोर्डको निर्देशिकाको नै धज्जी उडेको छ । २०७९ कात्तिक २४ गतेदेखि लागू भएको निर्देशिका मर्जरमा गएका कुनै पनि कम्पनीले पालना गरेका छैनन् । १५ दिन भित्र खोल्नु पर्ने कारोबार महिनौँ समयसम्म समेत नखोल्दा बोर्ड भने मौन बसेको छ ।

मर्जरमा गएका कम्पनीहरुले महिनौ समयसम्म कारोबार फुकुवा नगर्दा ढिलो हुनुको कारण समेत बोर्डले सोध्ने गरेको छैन । नियम कार्यान्वयन गर्ने संस्था धितोपत्र बोर्डको अनाकानीको फाइदा लुट्दै आएका छन् ।

अध्यक्ष हमाल कार्यकाल पुस २० गते सकिएको हो । हमाल अध्यक्षबाट बाहिरिएपछि वरिष्ठ कार्यकारी निर्देशक नवराज अधिकारीले २०८० माघ ७ बाट कायम मुकायम अध्यक्षको जिम्मेवारी समालेका थिए । धितोपत्रसम्बन्धी ऐन, २०६३ पनि संशोधन पछि भने बोर्ड अध्यक्ष पद रिक्त रहेको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरेको हो । सो बमोजिम बोर्ड अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य रहेका छन् ।

हमालले चिम्लिए आँखा, कुन कम्पनीको कारोबार कति रोक्का

धितोपत्र बोर्ड तत्कालीन अध्यक्ष हमालले आफ्नैले बनाएको निर्देशिका पालना नहुँदा समेत मौन बसेका थिए । उनको कार्यकालमा कयौँ कम्पनीहरूको कारोबार महिनौँ रोक्का हुँदा समेत कुनै कारबाही हुन सकेको थिएन् । उनी आफैले जारी गरेको निर्देशिका विपरीत कयौँ कम्पनी जाँदा समेत उनले कुनै पनि कारबाही प्रक्रिया अगाडि बढाएका थिएनन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफले मर्जर प्रक्रियाका लागि २०७९ असार ३१ गते शेयर कारोबार रोक्का गरेका थिए । प्रभु महालक्ष्मी लाइफको नाममा २०७९ पुस २ गते फुकुवा भएको थियो । लक्ष्मी सनराइज बैङ्कको २०७९ पुस २२ गते रोक्का भएको थियो भने २०८० असार २९ गते फुकुवा भएको थियो ।

यता, धौलागिरि र खप्तड २०८० असार १९ गते रोक्का भएको थियो भने २०८० साउन ३० गते फुकुवा भएको थियो । साना किसान विकास २०८० असार २४ गते रोक्का भएको थियो भने साउन २१ गते फुकुवा भएको थियो । नयाँ सारथि र विजय रोक्का २०८० असार ३१ गते भएको थियो भने साउन २१ गते फुकुवा भएको हो ।

यसबिचमा बोर्डको निर्देशिका बमोजिम कुनै पनि कम्पनीले १५ दिन भित्र शेयर कारोबार फुकुवा गरेको छैनन् । नियम बनाउन अब्बल धितोपत्र बोर्ड कार्यान्वयनमा भने सुस्त देखिएको छ । पुँजी बजारमा मौलाएका अनेकौँ अनियमिततामा बोर्डको भूमिका भने देख्न सकिएको छैन ।

बोर्डका अध्यक्ष चयन नुहुँदा ४ कम्पनीका लगानीकर्ता मारमा

अध्यक्ष चयन नहुँदा चार कम्पनीको शेयर कारोबार फुकुवाको फाइल धितोपत्र बोर्डको दराजमा थन्किएर बसेको छ । बिपिडब्लु लघुवित्त, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तको शेयर कारोबार मर्जर प्रयोजनका अहिले पनि रोक्का अवस्थामा रहेको छ । मिर्मिर र नेरुडेको २०८० फागुन २२ गते र विपिडब्लु र सामुदायिक २०८० फागुन २४ गते मर्जर प्रक्रियाका लागि शेयर कारोबार रोक्का भएको थियो ।

आफूले सबै प्रक्रिया पुरा गरेर शेयर फुकुवाको लागि धितोपत्र बोर्डमा फाइल पठाएको र निमित्त अध्यक्षले स्वीकृति दिने अधिकारी नहुँदा रोकिएर बसेको मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मीन बहादुर बोहराले बताए । उनले भने, ‘हामीले मर्जर प्रक्रियाका सबै काम पुरा गरी बोर्डमा पेस गरी सकेका छौ । तर, अहिले बोर्ड अध्यक्ष विहीन छ । बोर्डमै गएर बुझ्दा निमित्त अध्यक्षलाई मर्जर प्रक्रियामा रोक्का भएको शेयर स्वीकृतको अनुमति नभएको हुँदा शेयर फुकुवा हुन सकेको छैन ।’

बोर्ड अध्यक्ष विहीन भएको हुँदा मर्जर प्रक्रियाका लागि शेयर कारोबार रोक्का भएका कम्पनीहरूले फुकुवाका लागि स्वीकृत प्रदान गर्ने नसकिएको बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले बताए । ‘निमित्त अध्यक्षलाई मर्जर प्रक्रियामा जाँदा शेयर रोक्का भएका कम्पनी शेयर फुकुवाको अनुमति छैन । अहिले शेयर रोक्का रहेका चार कम्पनीको कुनै गल्ती देखिँदैन । अहिले बोर्डमा अध्यक्ष नहुनु र निमित्तलाई उक्त अधिकार नदिनु प्रमुख कारण हो’ अधिकारीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*