हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)

१४ असार २०७८, सोमबार १३:०६

काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२ वटा कम्पनी र ६४ जना प्राकृतिक व्यक्तिको नाममा सो शेयर छुट्टाइएको फेला परेको हो ।

बीमा समितिले अनुमति दिने क्रममा एक अर्ब घोटाला भएको भन्दै धेरैजसो मिडियामा चर्चा र बहसको विषय बनेको हिमालयन रि हाल सञ्चालनमा रहेका बीमा कम्पनीका दुई सिईओको आफन्तको नाममा समेत शेयर लगानी रहेको भेटिएको छ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक दिप प्रकाश पाण्डेका दुई जना आफन्तको नाममा हिमालयन रिमा शेयर लगानी रहेको प्राप्त विवरणमा उल्लेख छ । त्यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कर्णको छोराको नाममा हिमालयन रिमा शेयर लगानी रहेको भेटिएको छ ।

हिमालयन रि नामक कम्पनीमा एउटै परिवारका दुई दाजुभाईको नाममा विभिन्न १४ वटा कम्पनीको स्वामित्वमा दुई अर्ब ३३ करोड शेयर छुट्टाइएको पाइएको छ । बीमा समितिले कथित मूल्याङ्कनको नाममा पहिलो नम्वरमा राखेको हिमालयन रीमा बीमा समितिका सञ्चालक रहेका किरण कुमार श्रेष्ठ सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको ५० करोड रुपैयाँको शेयर लगानी छ ।

शेयर माफियाहरुसँगको सेटिङमा लाइसेन्स दिएर लगानीकर्ताहरुलाई पाँच वर्षभित्रैमा अर्बौ फाइदा दिई मालामाल बनाउने उद्देश्यले बीमा समितिका वरिपरिका मानिसहरुको लगानी रहेको भेटिएको छ । यतिसम्म कि बीमा समितिको कार्यालय रहेको कुपण्डोलको मुख्य गेटको सडकपारी पट्टी रहेको प्रिन्सेल नामक कागज आयात गर्ने कम्पनीलाई समेत शेयर दिइएको खुलेको छ ।

हिमालयन रि काण्ड सफल भएमा काठमाडौंमा शान्तिनगरमा लामो समयदेखि बस्दै आएका शंकर अग्रवालका दुई छोराहरु सुलभ अग्रवाल र साहिल अग्रवालले मात्रै २० अर्बभन्दा बढि मुनाफा कमाउनेछन् । अर्थमन्त्री विष्णु पौडेलसँगको सेटिङमा हुन लागेको नयाँ पुनर्बीमा कम्पनी लाइसेन्समा सबैभन्दा धेरै शेयर साहिल र सुलभ अग्रवालका नाममा छ ।

उनीहरु दुवै शंकर अग्रवालका छोराहरु हुन् । त्यस्तै राजेश हार्डवयेरका राजेश कुमार अग्रवलाल, नेपाल उद्योग परिसंघका सतिश मोरलाई समेत गोल्डेन लाभ हुने गरी शेयर छुट्टाइएको हिमालयन रीमा यसअघि अजेयराज सुमार्गीले व्यवसायीहरुले सित्तैमा गोल्डेन शेयर लिने गरेको आरोप खेपेका कान्तिपुरका मालिक कैलाश सिरोहियाको समेत १० करोड रुपैयाँको शेयर लगानी रहेको छ ।

हिमालयन रिलाई पुनर्बीमा लाइसेन्स दिने र बीरगन्ज अलौमा जन्मेर काठमाडौं आई सचिवसम्मको पदमा पुगेर अवकास पाएका सूर्य प्रसाद सिलवालाई अध्यक्ष बनाउन सेटिङ गर्ने काठमाडौं महानगरपालिका १, निवासी दिपक भट्टले उक्त कम्पनीमा ४५ करोड रुपैयाँको शेयर लिएका छन् । उनको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्सको नामका ४५ करोड रुपैयाँको शेयर रहेका छ ।

विभिन्न व्यक्ति तथा समुहलाई भागबण्डा गरिएको शेयरमा कूल संस्थापक शेयर मध्ये ३२.५३ प्रतिशत शेयर शंकर अग्रवालका छोरा साहिल अग्रवाल र सुलभ अग्रवालको स्वामित्व रहेको पाइएको छ । बीमा समितिले एउटै परिवारका सदस्यको शेयर १५ प्रतिशतभन्दा बढि हुन नहुने भएपनि मुलुकी ऐनको जगमा टेकेर यति ठूलो कम्पनी एउटै व्यापारिक घरानालाई सुम्पन खोज्ने बीमा समितिको तर्कलाई कुनै पनि कोणबाट जायज र न्यायोचित मान्न सकिदैन ।

नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको एक अर्ब रुपैयाँको शेयर रहेको हिमायन रिमा चारैतिर स्वार्थ बाझिने देखिँदा देखिदै भ्रष्टाचार सम्बन्धी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत मौन रहँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बीमा समितिले हिमालयन रिको लाइसेन्स दिने प्रक्रियामा अनियमितता गरेको भन्दै दुई उजुरी परिसकेको छ । यद्यपि आयोगले तत्काल एक्सनमा जान भने आनाकानी गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*