मुद्धती निक्षेपमा मात्रै सीमित भएपछि लगानी निर्देशिका परिमार्जन गर्ने तयारीमा समिति, लगानी गर्न थप सहज गछौं: कार्यकारी निर्देशक पौडेल

२७ भाद्र २०७९, सोमबार १४:३९

काठमाडौैं । बीमा समितिले ल्याएको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले चासो नदेखाएको भन्दै परिमार्जन गर्ने भएको छ। बीमा कम्पनीहरुको लगानीको दायरामा विस्तार गर्ने हेतुले ल्याएको निर्देशिकामा बीमा कम्पनीहरुको ध्यान नगएको भन्दै बीमा समितिले परिमार्जन गर्न लागेको हो ।

समितिले जीवन बीमक संघ र निर्जिवन बीमक संघसँग यस बिषयमा बैठकसमेत बसिसकेको छ। के गर्ने भन्ने बिषयमा समितिले कम्पनीहरुलाई डोकर नै निर्देशिकाको बिषयमा जानकारी लिईसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् । लगानी निर्देशिका परिमार्जन गरेर आउने तरखरमा रहेको उनले बीमापोष्टलाई जानकारी दिए ।

बीमा कम्पनीहरूको पूँजी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्र थुप्रिएपछि बीमा समितिले लगानी निर्देशिका नै परिवर्तन गर्ने भएको छ । कम्पनीहरूले निर्देशिकाको व्यवस्थाले नयाँ क्षेत्रमा लगानी गर्न नसकेको गुनासो गरेपछि समितिले परिमार्जन गर्न लागेको हो ।

‘निर्देशिकाको व्यवस्थाले गर्दा जलस्रोत, कृषि, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेनौं भन्ने गुनासो आएको छ,’ उनले भने ।‘नयाँ नयाँ क्षेत्रमा समेत लगानी गर्न सक्नेगरी निर्देशिका परिमार्जन गर्न लागेका छौं ।’ निर्देशिकामा अहिले कायम लगानीका क्षेत्रमा थप सहजीकरण गर्दै नयाँ क्षेत्रमा समेत लगानी खुला गर्ने समितिको तयारी छ ।

समितिले २०७५ चैतमा लगानी निर्देशिका जारी गर्दै घरजग्गा व्यवसाय र जलस्रोत, कृषि, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेको थियो । यस्तै कम्पनीहरूले पूर्वाधार विकासका क्षेत्रमा लगानी नगरेको भन्दै समितिले १ वर्षअघि निर्देशिकाअनुसार लगानी गर्न निर्देशन पनि दिएको थियो । तर, निर्देशिकाले खुला गरेका नयाँ क्षेत्रमा कम्पनीहरूको लगानी आकर्षित हुन सकेको छैन । अहिले कायम लगानीका क्षेत्रमा थप सहजीकरण गर्दै नयाँ क्षेत्रमा समेत लगानी खुला गर्ने समितिको तयारी छ ।

समितिको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा बीमा कम्पनीहरूले कुल ५ खर्ब २७ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये ४ खर्ब ८ अर्ब ४३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ । मुद्दती निक्षेपमा राखिएको रकम कुल लगानीको ७७ दशमलव ४८ प्रतिशत हो । पूर्वाधारका क्षेत्रमा १ दशमलव ४१ मात्रै लगानी छ । पूर्वाधार क्षेत्रमा लगानी गरिएको रकम ७ अर्ब ४५ करोड रुपैयाँ छ । पूर्वाधार क्षेत्रमा जीवन बीमा कम्पनीको ७ अर्ब १४ करोड र निर्जीवनको ३० करोड रुपैयाँमात्र लगानी छ । निर्देशिकाले खुला गरेको घरजग्गामा बीमा कम्पनीको लगानी नगन्य छ ।

गत आर्थिक वर्षसम्ममा नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घरजग्गामा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ लगानी गरेको छ । निर्देशिकाअनुसार बीमा कम्पनीहरूले वाणिज्य बैंक र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा आफ्नो कुल टेक्निकल रिजर्भको न्यूनतम ४०–४० प्रतिशत लगानी गर्नुपर्छ । विकास बैंकको निक्षेपमा बढीमा २० र फाइनान्स कम्पनीमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान निर्देशिकामा छ ।

यसबाहेक नेपाल सरकारको बचतपत्र र घरजग्गामा ५–५ प्रतिशतसम्म, सूचीकृत कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म र अग्राधिकार शेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तै सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि पर्यटन जलस्रोतलगायत पूर्वाधारमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*