बेलायतमा ३० अर्बको सामूहिक लगानी कोष खडा गर्दै निफ्रा, पाँच वर्षमा १२ अर्ब ७५ करोड प्रतिफल

१ चैत्र २०७७, आईतवार २०:१५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने घोषणा गरेको छ । आर्थिक पत्रकारहरुको साझा संस्था नाफिजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको बताउँदै चालु आर्थिक वर्षसम्ममा सम्पन्न भइसक्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, “चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको सामूहिक लगानी कोष जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।” उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।

तर, त्यति ठूलो रकम कहाँ लगानी गर्ने भन्ने सम्बन्धमा निफ्रासँग स्पष्ट योजना देखिदैन । निफ्रामा १२ अर्बभन्दा बढि विकास पूर्वाधार निर्माणको लागि ऋण माग भइरहेको भएपनि अन्य लगानी कहाँ लगानी गर्ने अनिश्चित नै देखिन्छ । बार्षिक ८.५ प्रतिशत प्रतिफल ग्यारेन्टी गरिएको उक्त लगानी निकै महंगो हो । पाँच वर्षपछि ४२.५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ प्रतिफलसहित फिर्ता गर्नुपर्नेछ ।

उनले निफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । “यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,” खतिवडाले भने । नाफिजका अध्यक्ष मोद ढकालको सयोजकत्वमा आयोजित कार्यक्रमका निफ्राका विविध पाटोको सम्बन्धमा छलफल भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*