ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड बिहिवार हुने

३ चैत्र २०७७, मंगलवार ०९:५८

काठमाडौं । हालसम्मकै सबैभन्दा धेरै मानिसले आईपिओ भरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँढ यसै साता हुने भएको छ । हाल विवरणहरुको अन्तिम रुजु गर्ने काम भइरहेकोमा सम्भवतः भोलिसम्ममा प्रिअलोटमेन्ट कार्य सम्पन्न गर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

सो कम्पनीका अनुसार भोलिसम्ममा प्रिअलोटमेन्टको कार्य सम्पन्न भएमा बिहिवार शेयर बाँडफाँड हुनेछ । कुनै प्राविधक कारणबश ढिलाई भएमा शुक्रबार शेयर बाँडफाँड गरिने सो कम्पनीले जनाएको छ ।

हालसम्मको प्रि अलोटमेन्ट प्लान अनुसार आवेदन दिने मध्ये ५ लाख ९४ हजार जनालाई १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता शेयर वितरण गरिनेछ । त्यसको लागि गोलाप्रथाको विधि अपनाइनेछ । कूल ६६ लाख कित्ता शेयर मध्ये पाँच प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५९ लाख४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ । आईपिओ बाँडफाँड कार्य सम्पन्न भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २० करोड पुग्नेछ ।

गत फागुन २१ गतेदेखि २६ गतेसम्म खुल्ला गरिएको ज्योतिको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले तीन करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । सो मध्ये डुप्लिकेशन लगायतका विवरण रुजु गरिसकेपछि अन्तिम योग्य आवेदकहरुको सूचि तयार गरी गोलाप्रथामा सहभागी गराइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*