ज्योति लाइफको जीवन बीमा कोष दोब्बरले बृद्धि, मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

१३ बैशाख २०७८, सोमबार ११:२८

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोष दोब्बरले बृद्धि भएको छ भने मुनाफासहितका सूचांकहरु उत्साहप्रद देखिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ४० करोड ४५ लाख ८९ हजार ७२० रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आईपुग्दा दोब्बर भन्दा बढिले बृद्धि भई तीन अर्ब ४९ करोड ६७ लाख ९१ हजार ४९८ रुपैयाँ पुगेको छ । त्यस्तै महाविपत्ति कोष तथा जगेडा कोषको आकारमा समेत बृद्धि भएको छ । गत वर्ष ३७ करोड ३९ लाख ४५ हजार १७१ रुपैयाँ रहेको जगेडा कोष यस आवमा बृद्धि भई ६० करोड चार लाख ८७ हजार ३०२ रुपैयाँ पुगेको छ । त्यस्तै महाविपत्ति कोषको आकार चार करोड १५ लाख रुपैयाँबाट बढेर ६ करोड ६७ लाख २० हजार ८११ रुपैयाँ पुगेको छ ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको खुद नाफा लेखा परिक्षणपूर्व हुने बीमाङ्कीय मूल्याङनको क्रममा फेरबदल हुन सक्नेछ ।

तेस्रो त्रैमासिकसम्म आईपुग्दा ज्योति लाइफले दुई अर्ब २१ करोड ८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९७ प्रतिशत बढी हो । गत वर्ष एक अर्ब कम्पनीले जम्मा एक अर्ब १० करोड एक लाख ७४ हजार ८९८ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले कोरोना महामारीका बीचमा पनि बीमा शुल्क आर्जनमा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेको छ । कम्पनीले बीमालेख धितोबापत ४४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी दुई करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै समीक्षा अवधीमा कम्पनीले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.२२ गुणा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ । कम्पनीले केही पहिले मात्रै आईपिओ जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*